दृश्य (१) ः एक सहकारी संस्था रामचाका सञ्चालक अध्यक्ष मित्रसँग लगभग ६ महिनापछि भेटघाट हुन्छ ।
रामचा– ‘अहो पासा ! के छ खबर ? अनि तिमीहरुको सहकारीको अवस्था नि ! चलिराखेको त छ नि !’
उत्तर– ‘ठीक छ, सबै राम्रै छ । सहकारी पनि राम्रैसँग चलिराखेको छ ।’
रामचा– ‘होइन होला, सारा सहकारी खत्तम भइराखेको छ । तिमीहरुको मात्र कसरी राम्रो हुन्छ ? नचाहिने गफ नदिनु नि ! मेरो एक सहकारीले ८ लाख भुक्तानी नदिएको ३ वर्ष भइसक्यो ।’
दृश्य (२) ः हरिमाया दिदी नातामा ज्वाइँ पर्ने एक सहकारीको प्रबन्धक श्यामभक्तको घरमा अचानक भेटघाटको लागि पुग्छिन् । केही समयको भलाकुसारीपछि ः–
हरिमाया दिदी– ‘हेर्नुस् न ज्वाइँ, त्यो न्यूरोडको रातो सहकारी संस्थामा पैसा जम्मा गरिराखेको, पहिले–पहिले त भनेको समयमा पैसा फिर्ता गथ्र्यो । ब्याज पनि अरुले भन्दा बढी नै दिन्थ्यो । त्यस्तै परेको अवस्थामा घरमा समेत पैसा ल्याइदिन्थ्यो, अचानक नै बन्द भयो रे ! अब पैसा कसरी फिर्ता लिने होला ? एकपटक ज्वाइँले नै भनसुन गरेर भए पनि सहयोग गर्नुप¥यो । ज्वाइँका चिन्ने मान्छेहरु छन् होला नि ! १५ लाखभन्दा बढी रकम लिन बाँकी छ ।’
दृश्य (३) ः दुर्गा दाइ भाइ पर्ने एक सहकारीको सञ्चालकको पसलमा भेटघाटको लागि पुग्छन् । केही समयको भलाकुसारी पछि ः–
दुर्गा दाइ– ‘ए भाइ, हेर न मलाई साह्रै आपत प¥यो, आजै तिम्रो सहकारीबाट ५ लाख ऋण मिलाई दिनुप¥यो ।’
उत्तर– ‘आजको आजै कहाँ मिल्नु नि ! नियमानुसार सदस्य भएर ३ महिनासम्म नियमित बचतसमेत गरेर पो जानुपर्छ त । अझ अब नयाँ आएको नियमानुसार त ६ महिना पो छ त !’
दुर्गा दाइ– ‘तिमीहरुको मात्र सहकारी छ कि क्या हो ? मेरो घरसँगै पनि सहकारी छँदै छ, त्यहाँ यस्तो वाहियात नियम पनि छैन । ल उतै लागियो । पछि दुर्गा दाइ पनि नभन्नु नि !’
दृश्य (४) ः नारायणमान आफ्नो घरसँगैको एक सहकारीमा जान्छन् ।
नारायण मान– ‘मैले घर बनाइराखेको तिमीहरुलाई थाहा भएकै कुरा हो । मलाई आजभोलि नै १ करोड ऋण चाहियो । जग्गाको भाउ नै २ करोड पर्छ । लौ तुरुन्त मिलाइदिनुस् त !’
उत्तर– ‘आम्दानीको स्रोत के–के छ नि ! परिवारका सदस्यहरु साक्षी पनि बस्न आउनुपर्छ । इन्जिनियर राखेर मूल्यांकन गराउनुपर्छ …..।’
नारायणमान– ‘२ करोड जाने जग्गा राखेर १ करोड ऋण लिन पनि आम्दानी, साक्षी ? के तिमीहरुले मलाई चिनेको छैन र ? वाहियात ! त्यसैले पो सबैले भन्ने रहेछन्– तिमीहरुको सहकारी काम लाग्दैन भनेर ।
माथिका विविध उदाहरणको मूल कारण नै सहकारी भनेको के हो भन्ने नबुझ्नुको परिणाम हो । सहकारी भनेको एक–आपसमा चिनजान भएका व्यक्ति मिलेर परस्पर आर्थिक÷सामाजिक विकासको उद्देश्य राखी सुसञ्चालन गरिने संस्था हो, माध्यम हो । सहकारीको कारोबार जति–जति वृद्धि भएर जान्छ त्यति नै चिनजानका व्यक्तिका पनि चिनजानका व्यक्तिहरु, तेस्रो पक्ष, चौथो पक्ष आदि थपिँदै जान्छन् । माथि उदाहरण (१) र उदाहरण (२) का अवस्थाको मुख्य कारण नचिनेका व्यक्तिहरुको सहकारीमा वा ब्याजको लोभमा वा सहकारीको अवस्था नबुझीकन रकम राख्नु नै हो ।
त्यति मात्र होइन, आजकाल त श्रीमान्लाई जानकारी नदिईकन श्रीमतीले वा श्रीमतीलाई जानकारी नदिईकन श्रीमान्ले वा परिवारका अन्य सदस्यले थाहा नपाउन् भनेर नचिनेको टाढाका सहकारीहरुमा रकम जम्मा गर्ने कु–फेसनसमेत आएको देखिन्छ । बढी ब्याजको लोभमा जुन पायो त्यही सहकारीमा रकम राख्ने गर्नुहुँदैन ।
यदि माथिका उदाहरण (१) र (२) का पात्रहरुले जो–जससँग संवाद गरेको हो तिनै व्यक्तिहरु संलग्न सहकारीहरुको सदस्य भएर रकम जम्मा गर्ने गरेको भए शायद उनीहरुको समस्या नै निम्तिने थिएन । त्यति मात्र होइन, सहकारीको जगेडा कोष कति छ, सहकारीमा कति स्थानीय व्यक्तिहरु सञ्चालक छन्, सहकारी निरन्तर प्रगतिपथमा लम्किरहेको छ कि छैन, नियम–कानुनको पालनाको अवस्था के–कस्तो छ ? बचतकर्ताहरुको रकम समयमा नै फिर्ता गर्ने गरेको छ कि छैन, नियमित प्रतिवेदन प्रकाशन गरेको छ कि छैन ? सहकारीको सम्पत्ति सदुपयोगको अवस्था कस्तो छ ? लेखापरीक्षण, खुल्ला साधारणसभा आदि समयमा गरिन्छ कि गरिँदैन ? आदि पनि हेर्नुपर्छ ।
त्यसै गरी उदाहरण (३) र (४) को मूल कारण पनि सहकारी कसरी सु–सञ्चालन हुन्छ र सहकारी भनेको के हो ? नबुझेको वा बुझ्न नै नचाहेको परिणाम हो । सहकारीका सदस्यहरुबीच परस्पर आर्थिक÷सामाजिक विकास गर्नको लागि सु–सञ्चालन हुनुपर्ने सहकारीमा आफूलाई ऋण आवश्यक परेको समयमा मात्र अनुहार देखाउन पुग्नु पक्कै पनि राम्रो व्यवहार होइन । आफूसँग रकम बढी भएको समयमा सहकारीमा जम्मा गर्ने र आवश्यक परेको समयमा सहकारीबाट रकम निकाल्ने त नियमित प्रक्रिया नै भयो ।
त्यसबाहेक पनि अन्य प्रयोजनको लागि, आर्थिक उन्नतिको लागि अधिक रकमको आवश्यकता परेको समयमा नियम–कानुनको पालना गर्दै सहकारीबाट ऋणसमेत लिन सकिन्छ । त्यस कारणले नै सहकारी सु–सञ्चालनको निमित्त आधारभूत नियम–कानुनहरु सरकार नै बनाइदिएका हुन्छन् । तिनै नियम–कानुनहरुको आधारमा सुशासनका सिद्धान्तहरु पालना गर्दै सहकारी सञ्चालन गरिनुपर्छ ।
केही सहकारीहरुले नियम–कानुनको वास्ता नगरीकन आफू मनपरि सहकारी सञ्चालन गरिरहेका हुन्छन् । स्वाभाविक रुपले नियम–कानुनअनुसार सञ्चालन हुने सहकारी संस्था बलियो हुन्छ, तिनीहरुको कारोबार पनि क्रमिक रुपले वृद्धि भइराखेको हुन्छ । नियम–कानुनलाई बेवास्ता गरी अध्यक्ष, म्यानेजर वा अन्य सञ्चालकको मनपरितन्त्रमा चल्ने सहकारी स्थापनाकालको समयमा त अति नै राम्रोजस्तो देखिन्छ तर समयक्रममा त्यहाँ पक्कै समस्या आउँछ ।
यति मात्र होइन, ऋण लिनुअगाडि पनि राम्रो र बलियो सहकारी नै छान्नुपर्छ । हामीले ऋण लिइसकेपछि रकम विभिन्न उद्देश्यमा लगानी गरिसकेको हुन्छ । त्यस कारण भन्नेबित्तिकै उक्त रकम पुनः नगदमा रुपान्तरण हुनु असम्भवजस्तै हुन्छ । कथंकदाचित जुन पायो त्यही सहकारीबाट ऋण लिएको अवस्थामा त्यो सहकारी संस्था नै कुनै समयमा समस्यामा आउँछ भन्ने कसैले पनि भन्न नसकिने विषय हुन्छ ।
स्वाभाविक रुपले ऋण दिने सहकारी संस्था समस्यामा आयो भने उक्त सहकारीले छिटो कर्जा चुक्ता गर्न ऋणीलााई ताकेता गर्छ नै, चाहे ऋण चुक्ता गर्ने समय बाँकी भएको होस् वा कर्जाको नियमित किस्ता चुक्ता भइराखेको होस् । त्यति मात्र होइन, सहकारी संस्थाको हालत अझै खराब भएको अवस्थामा सहकारीका बचतकर्ताहरु नै ऋणीको घर–घरमा गएर ताकेता गर्न आएको अवस्था पनि हामी सबैले देखेकै विषय भयो ।











प्रतिक्रिया