काठमाडौं ।
नेपाल पत्रकार महासंघले आफ्नो ७१औँ स्थापना दिवसका अवसरमा राजधानीमा प्रभातफेरि तथा कोणसभा आयोजना गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याएको छ ।
महासंघ केन्द्रीय कार्यालयको आयोजनामा सिनामंगल पिपलबोटबाट सुरु भएको प्रभातफेरि कार्यक्रम सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा पुगेर माल्यार्पण तथा कोणसभामा परिणत भएको थियो । महासंघले स्थापना दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने परम्परालाई सिमसिम पानी परेको भए पनि पूरा गर्यो ।
कोणसभालाई सम्बोधन गर्दै महासंघका पूर्वअध्यक्ष किशोर नेपालले पत्रकारिताको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो– ‘नेपाल पत्रकार महासंघले पत्रकारको खोल ओढेर पार्टीको मुखपत्रको काम गरिरहेका छौं । पत्रकारले सरकार र राजनीतिज्ञलाई मार्ग निर्देशन गर्नुपर्छ ।’ उहाँले पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारिताको मर्म र धर्मअनुसार अभियान नै चलाएको स्मरण गर्दै अहिलेको पत्रकारिता ‘अनेक फूलबुट्टा भरेको छ, तर गुणस्तरीय हुन सकेको छैन’ भन्नुभयो ।
महासंघकी अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउनुभयो । ‘पत्रकार जिम्मेवार भएर महासंघले अभिव्यक्ति स्वतन्त्रतालाई जोगाउँदै अघि बढ्नुपर्छ’ –उहाँले भन्नुभयो । उहाँले देशका मिडिया हाउसहरू आर्थिक रूपमा धराशयी बन्दै गएको उल्लेख गर्दै राज्यले पनि लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।
महासंघका पूर्वअध्यक्ष तथा तत्कालीन सल्लाहकार हरिहर विरहीले लोकतन्त्रको रक्षा र नागरिक अधिकारका सवालमा पत्रकारको भूमिका निर्णायक हुने बताउनुभयो । ‘देश निकै संकटमा परेको बेला लोकतन्त्रको रक्षार्थ भर्खरै निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार बनेको छ’, उहाँले भन्नुभयो– ‘पत्रकारले धेरै सरकार देखेको छ, कुनै पनि सरकार स्थायी हुँदैन ।’
नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले नेपाली पत्रकारिताको संरक्षण र प्रवद्र्धनमा काउन्सिलले सक्रिय भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले पत्रकारमाथि आन्दोलनकारीले गरेको हातपातको चर्को निन्दा गर्नुभयो । त्यसैगरी महासंघका पूर्वउपाध्यक्ष रमेश विष्टले पत्रकारले आफ्नो पेशागत धर्मअनुसार काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष महेन्द्र विष्ट, तारानाथ दाहाललगायत काठमाडौं, ललितपुर शाखा, प्रतिष्ठान शाखा, न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना विभाग तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उहाँहरूले नेपाल पत्रकार महासंघ, नेपाली पत्रकारहरूको छाता संगठनका रूपमा प्रेस स्वतन्त्रताको प्रवद्र्धन, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा सक्रिय रहँदै आएको छ ।
७१ वर्षको यात्रा पार गर्दै आएको महासंघले नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र जनउत्तरदायी पत्रकारिताको स्वर्णिम इतिहास निर्माण गरेको छ । यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी महानुभावहरूमा शुभकामना व्यक्त गर्दै मिथ्या सूचना र अफवाहविरुद्ध तथ्यपरक समाचार सम्प्रेषणमार्फत समाजलाई सही दिशा दिने जिम्मेवारी अझ मजबुत बनाउन आह्वान गर्नुभयो ।











प्रतिक्रिया