काठमाडौं
पछिल्लो निर्वाचनको अप्रत्याशित परिणामपछि राजनीतिक, वैचारिक र सांगठनिक रूपमा दबाबमा परेको नेकपा (एमाले) ले पार्टी पुनर्जागरण तथा जनआधार विस्तारका लागि देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्नेभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि–२) मार्फत एमाले अब जनतामाझ केन्द्रित हुने, पार्टी र जनताबीच बढ्दै गएको दूरी कम गर्ने तथा संगठनलाई तल्लो तहबाट पुनर्गठन गर्ने रणनीतिमा अघि बढेको संकेत दिएका छन् ।
जेठ ४ देखि १० गतेसम्म बसेको पदाधिकारी बैठकका निर्णयका आधारमा जारी निर्देशनमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचन परिणाम, पार्टीको अवस्थालगायत विषयमा समीक्षा गर्दै अब सम्पूर्ण शक्ति जनतामाझ केन्द्रित गर्नुपर्ने निष्कर्ष प्रस्तुत गर्नु भएको छ ।
हमा पुगेर जनताका गुनासा सुन्ने, संगठन सुदृढ गर्ने, कार्यकर्तालाई पुनः सक्रिय बनाउने र पार्टीप्रति घट्दै गएको विश्वास पुनः स्थापित गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागिएको हो ।
अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले गत वर्षको भदौ २३ र २४ गतेका राजनीतिक घटनापछि मुलुक प्रतिगमनतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको एजेन्डा अघि सारेको दाबी गर्नुभएको छ । तर, अन्य राजनीतिक दलहरूले उक्त प्रस्तावलाई साथ नदिएकै कारण आफ्नो पार्टी पनि निर्वाचनमा सहभागी हुन बाध्य भएको उहाँको भनाइ छ ।
‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टीसमेत निर्वाचनमा जानुपरेको थियो’ – निर्देशनमा उल्लेख छ ।ओलीले निर्वाचनमा सहभागी हुनु पार्टीको रणनीतिक बाध्यता रहेको संकेत गर्नुभएको छ । तर, निर्वाचन परिणाम एमालेको अपेक्षाअनुसार नआएको तथ्यलाई उहाँले स्वीकार गर्नुभएको छ ।
निर्वाचनपछि पहिलोपटक औपचारिक दस्तावेजमार्फत एमाले नेतृत्वले परिणामप्रति असन्तुष्टि व्यक्त गरेको छ । अध्यक्ष ओलीले निर्वाचनको परिणामलाई ‘अस्वाभाविक’ भन्दै त्यसबारे पार्टीले विस्तृत समीक्षा गर्ने बताउनुभएको छ ।
‘निर्वाचनको परिणाम हाम्रो पार्टीका पक्षमा रहेन । नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमा समेत रहेन,’ अपानीमा उल्लेख गरिएको छ ।
निर्देशनमा निर्वाचनको प्रक्रिया र परिणामबारे प्रश्न उठाइए पनि त्यसको विस्तृत व्याख्या गरिएको छैन । यद्यपि, पार्टीले छुट्टै समीक्षा प्रतिवेदन सार्वजनिक गरेर आफ्नो धारणा बाहिर ल्याउने जनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन परिणामले एमालेभित्र नेतृत्वको रणनीति, गठबन्धन नीति, उम्मेदवार छनोट तथा जनतासँगको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ । यही कारण पार्टी अहिले आत्मसमीक्षा र पुनर्गठनको चरणमा प्रवेश गरेको देखिन्छ ।
निर्वाचनपछि एमालेभित्र वैचारिक बहस तीव्र बनेको छ । पार्टीको परम्परागत जनआधार कमजोर भएको, युवापुस्तालाई आकर्षित गर्न नसकेको तथा नेतृत्व परिवर्तनको बहस चर्किएको चर्चा एमाले वृत्तमै सुनिन थालेको छ ।
केही नेताहरूले सार्वजनिक रूपमै अध्यक्ष ओलीपछिको नेतृत्वबारे छलफल आवश्यक रहेको धारणा राख्दै आएका छन् । यद्यपि, ओलीनिकट नेताहरू भने अहिले नेतृत्व परिवर्तनको बहसभन्दा संगठन सुदृढीकरण र पार्टी पुनर्जागरणमा केन्द्रित हुनुपर्ने बताउँदै आएका छन् ।
एमालेभित्र पछिल्ला महिनाहरूमा देखिएको निष्क्रियता, कार्यकर्ता पलायन तथा अन्तरविरोधलाई नेतृत्वले समेत स्वीकार गरेको देखिन्छ । अध्यक्ष ओलीले निर्देशनमा निर्वाचन परिणामले पार्टी पंक्तिमा निराशा र पलायनको मनोविज्ञान बढाउन खोजेको उल्लेख गरेका छन् ।
एमालेले पछिल्लो समय आफू र जनताबीच दूरी बढेको निष्कर्ष निकालेको छ । विशेषगरी युवा मतदाता, सहरी क्षेत्र तथा नयाँ मतदातामाझ पार्टीको प्रभाव घट्दै गएको आन्तरिक विश्लेषण छ ।
यही कारण अब पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनतामाझ पठाउने तयारी गरिएको हो । पार्टी स्रोतका अनुसार केन्द्रीय सदस्यहरूलाई निश्चित पालिकाको जिम्मेवारी दिइनेछ । उनीहरूले नियमित रूपमा भेटघाट, अन्तरक्रिया, संगठन निर्माण तथा स्थानीय समस्याको अध्ययन गर्नेछन् ।
एमालेले यसलाई केवल संगठन विस्तार अभियानका रूपमा नभई राजनीतिक पुनर्जागरण अभियानका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले नयाँ र पुरानाको नाममा लोकतान्त्रिक आन्दोलनबाट स्थापित राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने प्रयास भइरहेको दाबी गर्नुभएको छ ।
उहाँले पछिल्लो राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै नवगठित सरकारका गतिविधिले मुलुकको भौगोलिक अखण्डतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन् ।
यद्यपि, उहाँले कुनै दल वा शक्तिको नाम उल्लेख गर्नु भएको छैन । तर, एमाले नेताहरूले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूले स्थापित दलमाथि अविश्वास बढाउने अभियान चलाइरहेको आरोप लगाउँदै आएका छन् ।
एमालेको पछिल्लो निर्णयलाई पार्टीभित्र देखिएको संकट व्यवस्थापनको प्रयासका रूपमा हेरिएको छ । एकातिर निर्वाचनको निराशाजनक परिणाम, अर्कोतिर नेतृत्वबारे उठिरहेका प्रश्न तथा घट्दो जनसमर्थनका बीच एमालेले अब पुनर्गठन र पुनर्जागरणलाई मुख्य राजनीतिक एजेन्डा बनाएको देखिन्छ ।
केन्द्रीय कमिटी बैठकमार्फत विस्तृत कार्ययोजना पारित गर्ने तयारी भइरहेको एमाले नेताहरूले बताएका छन् । त्यसअन्तर्गत संगठन पुनःसंरचना, सदस्यता व्यवस्थापन, जनपरिचालन, राजनीतिक प्रशिक्षण र युवा आकर्षण कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
पार्टी नेतृत्वको विश्वास छ कि तल्लो तहसम्म पुगेर जनताका अपेक्षा र असन्तुष्टि बुझ्न सके एमालेले गुमेको राजनीतिक ऊर्जा पुनः प्राप्त गर्न सक्छ । तर, राजनीतिक विश्लेषकहरू भने केवल अभियान घोषणा गरेर मात्र पर्याप्त नहुने, जनताले उठाएका सुशासन, रोजगारी, आर्थिक संकट र राजनीतिक उत्तरदायित्वका प्रश्नमा विश्वसनीय जवाफ दिन सकेमात्र एमालेको पुनर्जागरण सम्भव हुने बताउँछन् ।
निर्वाचनपछिको अन्योल, आन्तरिक बहस र नेतृत्वमाथिको दबाबका बीच एमालेले थालेको यो जागरण अभियानले पार्टीलाई नयाँ ऊर्जा दिन्छ कि दिँदैन भन्ने प्रश्नको उत्तर भने आगामी दिनका गतिविधिले स्पष्ट पार्नेछ । अहिलेका लागि एमालेले आफ्नो सम्पूर्ण राजनीतिक शक्ति पुनः जनतामाझ केन्द्रित गर्ने निर्णय भने गरिसकेको छ ।











प्रतिक्रिया