काठमाडौं।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार अपराजित यात्रा यथावत राखेको छ । आइतबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाइृ ३ विकेटले हराएको हो । यो नतिजासँगैं विभागीय टोलीको ४ खेलमा ७ अंक भएको छ । बागमतीको भने त्यति नै खेल खेल्दा २ अंक मात्रै रहेको छ ।
वर्षाको कारण माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेल २८ ओभरमा छोट्याएको थियो । बागमतीले पहिले ब्याटिङ गरेर २ सय ९ रनको लक्ष्य दिएको थियो । तर, आर्मीले जित हात पार्न अन्तिम बलसम्म खेल्नु परेको थियो ।
आर्मीले जित्न अन्तिम ओभरमा १३ रन चाहिएको थियो । बागमतीका लागि रिजन ढकालले बलिङ गरेकोमा उनको अन्तिम बलमा छक्का प्रहार गरिएको थियो । कुशल मल्लले विजयी छक्का प्रहार गर्दै नटआउट रहे । उनले सर्वाधिक ९० रन बनाए ।
अन्यमा ओपनर तृतराज दासले ५४ रन बनाएका थिए । बागमतीका लागि इशान पाण्डे र विवेक राना मगरले समान २ तथा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट लिए ।
त्यसअघि बागमतीले निर्धारित २८ ओभरमा २ सय ८ रन बनाएको थियो । टोलीका लागि ओपनर आशुतोष घिरैयाले सर्वाधिक ३८ रन जोडे । अन्यमा पवन थापा ३५, विवेक थापा मगर र सोनु देवकोटाले समान ३० तथा प्रतिस जिशीले २८ रन योगदान दिएका थिए । आर्मीका लागि नरेन साउदले ४ तथा शाहब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले समान १ विकेट हासिल गरे ।
गण्डकीको जित
गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ४३ रनले हराएर जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । जितको लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको एपीएफ मात्र १ सय ७ रनमा समेटिएको थियो । टोलीका लागि सुमित महर्जनले सबैभन्दा बढी २२ रन बनाए ।
एपिएफलाई १ सय ७ रनमा समेट्न सिब्रिन श्रेष्ठ र अपराजित पौडेल नायक बने । सिब्रिन र अपराजितले ३÷३ विकेट लिए भने सुवास भण्डारीले २ विकेट लिएका थिए ।
त्यसअघि वर्षा र भिजेको मैदानका कारण २१ ओभरमा घटाइएको खेलमा गण्डकीले ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । टोलीका लागि ओपनर विक्रम विकेले सर्वाधिक ३७ रन बनाए । यस्तै दीपक डुम्रेले ३४ रन, अर्जुन कुमालले २५ रन बनाए । बलिङमा अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।











प्रतिक्रिया