एउटा कुकुर जसले संसारलाई इमानदारिताको ऐना देखायो

बफादारिताको पर्याय “हाचिको”

846
Shares

“म तिम्रो प्रतीक्षा गर्नेछु, चाहे जतिसुकै समय लागोस्” यो एउटा वाक्यले विश्वकै सबैभन्दा बफादार कुकुर “हाचिको” को सम्पूर्ण जीवनको सार बोकेको छ । जापानको व्यस्त सिबुया रेल स्टेसनको बाहिर ठिंग उभिएको एउटा काँशको मूर्तिले केवल एउटा जनावरको कथा मात्र भन्दैन । यसले त प्रेम, समर्पण र अटुट विश्वासको त्यो पराकाष्ठालाई चित्रण गर्छ जसले मानव हृदयलाई विगत एक शताब्दी अघिदेखि पगाल्दै आएको छ । सन् १९२३ मा ओडाटेको हिमपातकाबीच जन्मिएको त्यो एउटा ‘अकिता इनु’ नश्लको कुकुर कसरी विश्वकै बफादारिताको प्रतीक बन्यो भन्ने कथा कुनै चलचित्रको कथाभन्दा कम रोचक र हृदयविदारक छैन ।

हाचिको नाम दिइएको त्यस कुकुर र कृषि प्राध्यापक हिदेसाबुरो उएनोको सम्बन्ध सन् १९२४ मा सुरु भएको थियो । त्यतिबेलाको जापानी रेलको कष्टकर यात्रापछि उएनोको निवासमा आइपुग्दा त्यो सानो छाउरो झन्डै मरणासन्न अवस्थामा थियो । उएनो दम्पतीले महिनौसम्म रातदिन नभनी त्यस घर पालुवालाई सुम्सुम्याएर र स्याहार गरेर नयाँ जीवन दिए । त्यसपछि सुरु भयो एउटा यस्तो सम्बन्ध, जसले समय र मृत्युको सीमालाई समेत चुनौती दियो । हरेक बिहान प्राध्यापक उएनो काममा जान सिबुया स्टेसन पुग्थे र हाचिको उनलाई बिदाइ गर्न त्यहाँसम्म जान्थ्यो । अचम्म त के थियो भने, बेलुका प्राध्यापक फर्कने समयमा हाचिको पहिले नै स्टेसनको ढोकामा पुगेर आफ्ना मालिकको प्रतीक्षा गरिरहेको हुन्थ्यो । यो उनीहरूको दैनिक रमाइलो तालिका थियो, जुन २१ मे १९२५ को त्यो स्तब्धपूर्ण दिनसम्म निरन्तर चलिरह्यो ।

त्यस दिन प्राध्यापक उएनो विश्वविद्यालयमा व्याख्यान दिँदादिँदै मस्तिष्क रक्तश्रावका कारण बिते । उनी कहिल्यै स्टेसन फर्किएनन् । तर, स्टेसनको गेटमा आफ्ना मालिकको बाटो हेरिरहेको हाचिकोलाई यो कुरा कसले बुझाउने ? भनिन्छ, उएनोको अन्त्येष्टि भइरहँदा हाचिकोले आफ्ना मालिकको सुगन्ध पछ्याउँदै कफिनमुनि लुकेर निस्कन अस्वीकार गरेको थियो । प्राध्यापकको मृत्युपछि हाचिकोलाई अन्य परिवारमा सारियो, तर पनि मन त्यही सिबुया स्टेसन र आफ्ना मालिकमै अड्किएको थियो । सन् १९२५ को गर्मी महिनादेखि हाचिकोले फेरि स्टेसन धाउन सुरु ग¥यो । घाम लागोस्, पानी परोस् या ठिहि¥याउने जाडो होस्, हाचिको हरेक बेलुका रेलबाट ओर्लने यात्रुहरूको भीडमा आफ्ना प्रिय मालिकको अनुहार खोजिरहन्थ्यो । सुरुका दिनहरूमा स्टेसनका कर्मचारी र पसलेहरूले हाचिकोलाई लखेट्थे, साना केटाकेटीले ढुङ्गा हान्थे र रेल्वे स्टेसनका पसलेहरूले पानी खन्याइदिन्थे । तर, हाचिकोको वर्षौ लामो मौन प्रतीक्षाले अन्ततः संसारको पत्थर जस्तो मनलाई पनि पगालिदियो ।

सन् १९३२ मा एउटा जापानी पत्रिकामा त्यस विषयमा लेख छापिएपछि हाचिको रातारात राष्ट्रिय नायक बन्यो । मानिसहरू टाढा–टाढाबाट हाचिकोलाई भेट्न र खानेकुरा दिन आउन थाले । पछि त्यसलाई ‘चुकेन हाचिको’ अर्थात् बफादार हाचिकोको सम्मान दिइयो । ८ मार्च १९३५ मा, आफ्ना मालिकको १० वर्षसम्म प्रतीक्षा गर्दागर्दै हाचिकोले सोही स्टेसन नजिकै अन्तिम सास फे¥यो । उक्त मृत्युको खबरले धेरै जापानी नागरिकलाई दुखी बनायो । हाचिकोको अन्त्येष्टिमा बौद्ध भिक्षुहरूले प्रार्थना गरे । मूर्ति स्थापना गरी हजारौँ मानिसहरुले श्रद्धाञ्जली अर्पण गरे । दोस्रो विश्वयुद्धको समयमा धातुको अभाव हुँदा हाचिकोको पहिलो मूर्ति पगालिए तापनि, युद्धपछि जापानी जनताले संकलन गरेको रकमबाट सन् १९४८ मा पुनः मूर्ति स्थापना गरियो ।

आज हाचिकोको कथा जापानमा मात्र सीमित छैन, यसले हलिउडदेखि चिनियाँ फिल्मीपर्दासम्म स्थान पाएको छ । टोकियोको ‘नेसनल म्युजियम अफ नेचर एण्ड साइन्स’ मा हाचिकोको एउटा शालिकलाई सुरक्षित राखिएको छ । हाचिकोले सिकाएको सबैभन्दा ठूलो पाठ भनेको विश्वास र आशा हो । हाचिकोले जान्थे वा जान्दैनथे कि उएनो अब फर्कने छैनन् भनेर, तर आफ्नो कर्तव्य र प्रेमलाई कहिल्यै त्यागेनन् । सय वर्षपछिको आजको संसारमा पनि हाचिकोको त्यो बफादारीको कथाले मानिसहरूलाई एकअर्काप्रति इमानदार रहन प्रेरणा दिइरहन्छ । समय परिवर्तन होला, प्रविधि बदलिएला, तर हाचिकोले देखाएको त्यो असीमित समर्पण हरेक कालखण्डमा सम्झनलायक बनिरहनेछ ।