रमेश लेखकलाई प्रतिशोध राखेर पक्राउ गरेको देउवा–कोइराला पक्षको दाबी

प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई आह्वान


काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गरेको भन्दै अपत्ति जनाउँदै भत्र्सना गरेको छ । सो पक्षले ओली लेखक पक्राउ पूर्वाग्रहप्रेरित रहेको स्पष्ट पारेको छ ।

देउवा पक्ष कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिवार विज्ञप्ति जारी गर्दै संविधानको मर्मविपरीत उनीहरूलाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ– ‘आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ ।’ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यसै गरी पक्राउ गरिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘संविधान र प्रचलित कानुनविपरीत गरिएको यस कार्यको हामी भत्र्सना गर्दछौँ ।’ गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा पक्राउ गरेकोमा यसलाई बदनियतपूर्ण कार्य भनिएको छ । यसले गम्भीर संवैधानिक र कानुनी प्रश्न उब्जाएको उल्लेख गरिएको छ ।

‘आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं. ७२१ को सिफारिसबमोजिम अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित छ’ –विज्ञप्तिमा भनिएको छ । गत भदौ २३ र २४ गते दुवै दिन भएका घटनाको छानबिन गर्नुपर्नेमा दोस्रो दिनको घटनामा मौन रहनुबाट प्रतिवेदन पक्षपातपूर्ण रहेको बैठकले ठहर गरेको छ ।

‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ– ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ ।’ यससँगै देशभरका आफ्ना नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि अपिल गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘साथै आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।’ संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्नको लागि पार्टीपंक्तिलाई आह्वानसमेत गरेका छन् ।