एमाले सचिवालय बैठकको निष्कर्ष : पार्टीका राम्रा कामलाई जनतासम्म स्पष्ट रूपमा पु¥याउन नसक्दा निर्वाचनमा हार

752
Shares

भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीले गरेका राम्रा काम र पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतासम्म स्पष्ट रूपमा पु¥याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।

उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा ज्यान गुमाउनुभएका जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि शोक एवं श्रद्धाञ्जली व्यक्त गरेको छ ।

अध्यक्ष ओली सेतो फेटा र वस्त्रमा पितृशोकमा रहँदा पनि सचिवालयको बैठक बोलाई सहभागी हुनुभएर राजनीतिक जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष ओलीका पिताको ९७ वर्षको उमेरमा गत शुक्रवार निधन भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरूका साथै भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा पार्टीप्रति जनमत प्रतिकूल बन्दै गएको बुझाइ बैठकमा व्यक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौं । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा हामीले जनतामाझ लैजान सकेनौँ । त्यसैले हार बेहोर्नुप¥यो ।’

उपमहासचिव भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप लगाउँदै एक प्रकारको नकारात्मक भाष्य निर्माण गरिएको र उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा भ्रम पैदा भई जनमत एमालेविरुद्ध गएको ठहर पार्टीले गरेको छ ।

अहिले एमालेले वडास्तरबाट चुनावी समीक्षा सुरु गरेको बताउँदै उहाँले भन्नुभयो –‘सबैले आआफ्नो वडास्तरबाटै समीक्षा बैठक गरिरहेका छन् । निर्देशन दिनुपर्ने केही छैन । के के भयो भन्ने कुरा तलबाटै स्वस्फूर्त रूपमा समीक्षा भइरहेको छ ।’ उहाँले वडापछि पालिका, जिल्ला र त्यसपछि प्रदेश स्तरमा समीक्षा हुने जानकारी दिँदै भन्नुभयो– ‘तलबाट आएको रिपोर्टसँगै केन्द्रमा पनि अर्को बैठकमा चुनावी समीक्षा गरिने छ ।’

पार्टीका पदाधिकारी तहमा दोहोरो विवाद चलेको विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भट्टले भन्नुभयो– ‘म त भर्खरै हिजो रातिमात्रै आएको हुँ, मैले त्यति बुझ्या छैन । कहाँ आरोप–प्रत्यारोप भयो भन्ने विषयमा जानकारी छैन ।’

प्रतिनिधिसभातर्फका १६ जना समानुपातिक सांसदहरूको नामावली टुंगो
बैठकले एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका १६ जनासमानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ ।

जसअनुसार जनजातितर्फबाट २ महिला भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ र २ पुरुष रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहनुभएको छ । यस्तै, खस आर्यबाट महिला पुरुष गरी पाँच जना छानिएका छन् । जसमा पद्मा अर्याल, टुकाभद्रा हमाल, यशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल पर्नुभएको छ ।

यस्तै, थारूबाट कृपाराम राना र दलितबाट विष्णुमाया बिके तथा नीता घतानी हुनुहुन्छ । त्यस्तै, मधेसीबाट महिलातर्फ रिङ्ला यादव, यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डल गरी ३ जना छन् । मुस्लिमबाट महिला साजिदा सिद्दीकी रहनुभएको छ ।

सचिवालय बैठकले नामहरूलाई अन्तिम रूप दिएपछि अब निर्वाचन आयोगमा पठाउने छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरूलाई पत्राचार गरिसकेको छ ।