काठमाडौँ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका ओलीको उपचारका क्रममा भक्तपुरको ठिमीस्थित नेपाल कोरिया मैत्री अस्पतालमा बिहान निधन भएको हो।
ओलीको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो। उनको अन्तिम संस्कार हुनुपूर्व, मृतकको इच्छाअनुसार नै आँखाको नानी दान गरिएको छ। आर्यघाटमा तिलगङ्गा आँखा अस्पतालका प्राविधिक टोलीले उनको आँखाको नानी सफलतापूर्वक संकलन गरेका थिए।
एमाले सचिव महेश बस्नेतका अनुसार स्व. मोहनप्रसादले आफ्नो मृत्युपछि कसैले संसार देख्न सकोस् भन्ने पवित्र उद्देश्यले आँखा दान गर्ने इच्छा जीवितै रहँदा व्यक्त गरेका थिए। “उहाँको अन्तिम इच्छाअनुसार नै प्रक्रिया पुर्याएर आँखा दान गरिएको हो, जसले समाजमा अंगदानप्रति सकारात्मक सन्देश दिएको छ,” बस्नेतले बताए।
तिलगङ्गा आँखा केन्द्रका डा. मोहनकृष्ण श्रेष्ठले ९७ वर्षको उमेरमा पनि आँखाको नानी स्वस्थ रहेको र यसलाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्न सकिने जानकारी दिए। “यदि आँखामा कुनै रोग छैन वा पहिले शल्यक्रिया गरिएको छैन भने जुनसुकै उमेरमा पनि नानी स्वस्थ रहन सक्छ। स्व. ओलीको आँखाको नानी पनि स्वस्थ देखिएकाले यसलाई सुरक्षित राखिएको छ,” उनले भने।
स्व. मोहनप्रसादका दुई छोरा र तीन छोरी छन्। अध्यक्ष केपी शर्मा ओलीले पशुपति आर्यघाटमा पिताको पार्थिव शरीरमा दागबत्ती दिएका थिए। सो अवसरमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
बयोवृद्ध अवस्थामा पनि समाजसेवा र परोपकारको भावना राख्दै आँखा दान गर्ने उनको यो निर्णयलाई धेरैले प्रेरणादायी कदमका रूपमा प्रशंसा गरेका छन्।












प्रतिक्रिया