काठमाडौं ।
देशभर वायु प्रदूषणको अवस्था उच्च हुँदा आमनागरिकको स्वास्थ्य अवस्था जोखिममा परेको छ । देशका विभिन्न स्थानमा राखिएको प्रदूषणसम्बन्धी मापन गर्ने स्टेसनमा केहीबाहेक अधिकांश जिल्ला सदरमुकामको वायु प्रदूषणको अवस्था उच्च देखाएको हो ।


एयर क्वाालिटी इन्डेक्स (एक्यूआर्ई) अनुसार विश्वमै वायु प्रदूषण बढी हुने सहरमा काठमाडौं दोस्रो स्थानमा परेको छ । गत मंगलवार पनि अवस्था यस्तै रहेको थियो । बिहीबार विश्वमै प्रदूषण उच्च हुनेमा पहिलो स्थानमा भारतको कलकत्ता, दोस्रोमा काठमाडौं, तेस्रोमा बेइजिङ, चौथोमा ढाका रहेका थिए ।
बिहीबार साँझमा काठमाडौंको एक्यूआर्ई १७५ थियो । कलकत्ताको १८७, बेइजिङको १६४ र ढाकाको १५५ थियो । ‘मंगलवारको तुलनामा प्रदूषण केही घटे तापनि उपत्यकामा सातादेखि घाम लाग्न सकेको छैन, हप्प गर्मी छ, माथि भएको धुलोको कण तलतिर थुप्रिएको छ’, वातावरण विभागका महानिर्देशक ज्ञानराज पौडेलले भन्नुभयो– ‘विगतमा यस्तो भएको थिएन, यो वर्ष अति प्रदूषित महसुस भएको छ ।’
उपत्यकाको वायु प्रदूषण अत्यधिक भएपछि विभागले विशेष सतर्कता अपनाउन अपिल गरेको छ । माथिको धुलो तलतिर आएको छ । सूर्यको प्रकाश देख्न नपाएको करिब हप्ता दिन कटिसकेको छ । विशेष गरी भारतको गंगा नदी वरपर इँट्टा बनाउने कारखाना, विभिन्न उद्योग कलकारखानाको विषदीयुक्त धुलो र धूवाँ, डढेलोलगायतको कारण वातावरण प्रदूषित भएको छ ।
दक्षिण पश्चिमका प्रदूषित वायुका कारण नेपालको वायुको अवस्था अत्यत्नै खतरनाक भएको विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम परेपछि मात्र बाहिर निस्कन तथा बिहानबेलुकी हिँडडुल नगर्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरका ७ स्टेसनमा वायु प्रदूषण अत्यधिक बढेको छ । प्रदूषण बढेसँगै आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिँदै आइएको हो ।
नेपालको अवस्था विश्लेषण गर्दा अत्यन्तै प्रदूषित सहरको पहिलो सूचीमा सुदूरपश्चिमको प्रादेशिक राजधानी धनगढी छ । त्यहाँको एक्यूआई २०४ छ । सुर्खेत वीरेन्द्रनगरको १७७, काठमाडौंको १६८, पाटनको १६७, कीर्तिपुरको १६१, मध्यपुर थिमीको १६० र भक्तपुरको १५४ छ ।
विभागले सवारीसाधनको धूवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण निर्मूल नहुने भन्दै मन्त्रालयले यस्ता कार्य रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । महानिर्देशक पौडेलले प्रतिकूल मौसमका कारण देशभरका जनजीवनमा असर पर्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सबैभन्दा बढी समस्या काठमाडौं उपत्यकामा परेको छ ।’ विभागले मौसमको अवस्थाबारे जल तथा मौसम विज्ञान विभागसँग निरन्तर कुराकानी गरिरहेको जनाएको छ । विभागले अबको केही दिनमा मौसम केही सफा रहने अनुमान गरेको छ ।
राजधानीको वायु प्रदूषणको अवस्था विश्लेषण गर्दा राजधानीको १५ स्थानमा वायु प्रदूषण मापनयन्त्रको सूचकांकमा सबै अस्वस्थ देखिएको हो । स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स (एक्यूआई) देखि ५० हुनुपर्छ । कामपाले त्यसलाई हरियो रङको प्रतीक मानेको छ । त्यसले वायु गुणस्तर सन्तोषजनक र प्रदूषणको न्यून असर पर्ने उल्लेख छ । यसले कुनै जोखिम नभएको उल्लेख छ ।
कामपाले राजधानीको १८ स्थानमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ । दुई स्थानमा चल्दैन कामपालाई पटकपटक आग्रह गर्दासमेत मर्मत गर्न सकेको छैन । बाँकीमध्ये एक स्थानको स्वच्छ छ । कामपाले स्वयम्भुस्थित १५ वडा कार्यालय, बालाजु बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जडीबुटीमा उपकरण जडान गरेको छ ।
‘अशनचोक, कमलादी, बौद्ध क्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाबहिलचोक, लैनचौर, हाँडीगाउँ र रत्नपार्कमा एक्यूआई परीक्षण यन्त्र जडान गरेको थियो । १५ स्थानमध्ये कतै पनि स्वस्थकर वायु छैन, मध्यम किमिसको छ’ – कामपा वातावरण विभाग प्रमुख सरिता राईले भन्नुभयो । एक्यूआईको रिपोर्टअनुसार ५१ देखि १०० लाई मध्यमस्तर मानिन्छ । कामपाले त्यसलाई पहेँलो रङको प्रतीक जनाएको छ । कामपा क्षेत्रको रत्नपार्कबाहेक सबै क्षेत्रमा अस्वस्थ छ । रत्नपार्कको एक्यूआई १२५ छ ।
सबै क्षेत्रको यसको अर्थ ती क्षेत्रको एक्यूआई १५१ देखि २०० को बीचमा छ । अर्थात् १८० माथि छ । वातावरणविद्का अनुसार २०० देखि ३०० धेरै अस्वथ्य अर्थात सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र अति ३०१ देखि ५०० सम्म अति खतरनाक सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उल्लेख छ ।
कामपा वातावरण व्यवस्थापन विभागले धेरै अस्वस्थलाई बैजनी र खतरनाकलाई गाढा खैरो प्रतीक उल्लेख गरेको छ । जाडो याममा खुला स्थानमा आगो बाल्ने, लामो समयसम्म वर्षा नहुने कारणले वायु प्रदूषण बढेको हो । विभागले वातावरण स्वस्थ राख्न खुला क्षेत्रमा आगो नबाल्ने सूचना जारी गरेको छ । कामपाले करिब एक महिनाअघि सूचना जारी गरी जथाभावी आगो बाल्नेमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।
कामपाले महानगर क्षेत्रमा वायु गुणस्तर निगरानीको लागि जडान गरिएको यन्त्रहरूको माध्यमबाट एयर क्वालिटी इन्डेक्स स्तर १५१ भन्दा बढी (अस्वस्थ्य) छ । तथ्यांकअनुसार स्वयम्भुको १६३, बालाजु बाईसधारा १५९, डल्लु १७३, थापाथली १६५, क्षेत्रपाटी १६१, नयाँबसपार्क १६८ र जडीबुटीमा १७० एक्यूआई देखाएको छ ।
अशनचोकमा १६२, कमलादी १७२, बौद्धक्षेत्र १६३, पुरानो बानेश्वर १५९, शान्तिनगर वडा कार्यालय १६९, लैनचौर १७०, हाँडीगाउँ १६७ र रत्नपार्क १०० एक्यूआई परीक्षणयन्त्र जडान गरेको थियो ।
वन तथा वातावरण विभागले विज्ञप्ति जारी गर्दै हालैका दिनहरूमा मौसम प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको जनाएको छ । विशेष गरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरहरूका अतिरिक्त तराईका अधिकांश स्थानमा मसिना कणहरू पीएम २.५ को प्रदूषण बढेको पाइएको छ । त्यसमा पनि बिहान र बेलुकाको समयमा वायु प्रदूषण उच्च हुने गरेको छ । चिसोको कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण पनि यो सिजनमा वायु प्रदूषण उच्च हुने गरेको जनाएको छ ।
केही स्थानमा डढेलोका घटनाहरू पनि सुरु हुन थालिसकेका छन् जसले वायु प्रदूषण बढ्नमा भूमिका खेलेको बताइन्छ । यसका अलावा उद्योग कलकारखानाहरू, सवारीकासाधनहरू, फोहोर र बालीनालीका अवशेष देश बाहिरबाट आउने प्रदूषण प्रमुख स्रोतहरू रहिआएका छन् । हुन त भारत र पाकिस्तानमा बाँडिएको पञ्जाब क्षेत्रबाट आउने धूवाँले समेत कहिलेकाहीँ काठमाडौंमा वायु प्रदूषण बढाएको विज्ञको भनाइ छ ।
यसै गरी काठमाडौं उपत्यकामा सञ्चालित इँट्टा भट्टाहरू पनि वायु प्रदूषण बढाउने अन्य कारक हुन् । वातावरणविद्हरूका अनुसार उपत्यकामा सञ्चालनमा रहेका एक सयभन्दा बढी भट्टाहरूले हिउँदे याममा प्रदूषणमा उल्लेख्य योगदान पु¥याएका छन् । तिनलाई वातावरणमैत्री बनाउन उद्यमीहरूलाई प्रोत्साहन दिने हो भने उद्योग बन्द नगरीकन पनि वायु प्रदूषण नियन्त्रण गर्न सकिने विज्ञहरूको भनाइ छ ।
यसैबीच वायु प्रदूषणबाट जोगिन नेपाल प्रहरीले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।












प्रतिक्रिया