काठमाडौँँ १ लाई नेपालकै व्यवस्थित, सुरक्षित र सुन्दर नमुना क्षेत्र बनाउँछु : मोहनराज रेग्मी


मोहनराज रेग्मी, नेकपा एमालेका काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुुनुहुन्छ । राजनीतिलाई सधैँ जनताको सेवामा लगाउनुपर्छ भन्ने मान्यता बोक्नु हुने रेग्मी व्यवसायमार्फत समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ । उहाँले काठमाडौँँ १ लाई नेपालकै व्यवस्थित, सुरक्षित र सुन्दर नमुना क्षेत्र बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्नुभएका रेग्मीले पार्टीको केन्द्रीय लेखा आयोग सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । उहाँ राजनीति पेसा नभई सामाजिक सेवा भएको विश्वास राख्दै काठमाडौँँँ–१लाई व्यवस्थित, सुरक्षित र नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । काठमाडौँँको क्षेत्र नं १ मा पूर्वाधार सुधार, बाढी नियन्त्रण, सम्पदा संरक्षण, युवालाई प्रविधिमैत्री रोजगारी र सुशासनमार्फत समग्र मुलुकको समृद्धिमा योगदान पु¥याउने आफ्ना प्रमुख एजेण्डाहरु रहेको उहाँ बताउनुहुन्छ । चुनाबी एजेन्डा र प्रतिबद्धतामा केन्द्रित रही नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले उहाँसँग गरेको कुराकानीको सार संक्षेप:

तपाईँको संक्षिप्त परिचय दिनुहोस् न ?

म नेकपा एमालेको स्थापना कालदेखि नै सक्रिय रूपमा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएको व्यक्ति हुँ । लामो समयदेखि पार्टी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभव छ । हाल म नेकपा एमालेको केन्द्रीय लेखा आयोगको सदस्यका रूपमा कार्यरत छु । ११औँ महाधिवेशनबाट समेत सदस्यको रूपमा निर्वाचित भई पार्टीप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको छु । संगठनात्मक अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण नेतृत्वलाई प्राथमिकता दिँदै निरन्तर पार्टी र जनताको हितमा काम गरिरहेको छु ।

तपाईँको राजनीतिक यात्रा कसरी सुरु भयो ?

मेरो राजनीतिक यात्रा २०४४ सालदेखि सुरु भएको हो । प्रारम्भमा पार्टीको भातृ संगठन स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मार्फत विद्यार्थी राजनीतिमा सक्रिय भएँ । त्यस क्रममा प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी हुँदै जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । साथै, पेसागत जिल्ला कमिटी र उपत्यका प्रदेश कमिटीमा बसेर पनि काम गर्ने अनुभव संकलन गरेको छु । विद्यार्थी राजनीति र विभिन्न पेसा–व्यवसायसँग जोडिएर काम गर्दै संगठन विस्तार, नेतृत्व विकास र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै मेरो राजनीतिक यात्रा अघि बढेको हो ।

काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिनु पछाडिको मुख्य प्रेरणा के हो ?

काठमाडौँँँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुको मुख्य प्रेरणा स्थानीय प्रतिनिधित्वको आवश्यकतासँग जोडिएको छ । विगतमा यस क्षेत्रबाट स्थानीय स्तरकै नेतृत्व चयन हुन सकेको अवस्था थिएन । तर यसपटक स्थानीय तहबाटै विशेष प्रतिनिधिको रूपमा छनोट हुने अवसर प्राप्त भयो । स्थानीय तहको सिफारिस र पार्टी केन्द्रबाट प्राप्त विश्वास तथा टिकटका आधारमा मैले उम्मेदवारी दिएको हुँ । यसलाई मैले स्थानीय जनताको अपेक्षा पूरा गर्ने अवसर र जिम्मेवारीका रूपमा लिएको छु ।

तपाईँका प्रमुख एजेन्डा र प्राथमिकताहरू के–के हुन् ?

प्रतिनिधि सभा मूलतः कानुन निर्माण गर्ने सर्वोच्च थलो हो । त्यसैले आफ्नो भूगोल, आवश्यकता र जनताको वास्तविक समस्यालाई आधार मानेर प्रभावकारी र व्यावहारिक कानुन निर्माण गर्नु नै सांसदको प्रमुख दायित्व हो । संविधान र लोकतन्त्रको रक्षा तथा सुदृढीकरणलाई केन्द्रमा राखी समयानुकूल कानुन बनाउने प्रतिबद्धता मेरो प्राथमिकता हो । हामी देश निर्माणको जिम्मेवारी बोकेको राजनीतिक शक्ति भएकाले क्षति पुगेका तथा जीर्ण बनेका संरचनाको पुनर्निर्माण र सुदृढीकरणतर्फ विशेष ध्यान दिन आवश्यक छ । काठमाडौँँँ क्षेत्र नं. १ भित्र सिंहदरबारलगायत महत्वपूर्ण सरकारी संरचना रहेका कारण यो अत्यन्त संवेदनशील क्षेत्र हो । त्यसैले ती भवनहरूको संरक्षण, मर्मत–सम्भार र व्यवस्थापनको विषयलाई संसदमा प्राथमिकताका साथ उठाउनु नै मेरो प्रमुख एजेन्डा रहनेछ ।

काठमाडौँँ क्षेत्र नं. १ मा देखिएका मुख्य समस्या के–के हुन् ?

काठमाडौँँँ क्षेत्र नं. १ मा देखिएका प्रमुख समस्यामध्ये बाढीजन्य जोखिम एक महत्वपूर्ण समस्या हो । बाढीका कारण भौतिक संरचनामा क्षति पुगेको मात्र होइन, स्थानीय बासिन्दामा त्रास र असुरक्षाको भावना पनि सिर्जना भएको छ । त्यसैले दीर्घकालीन बाढी नियन्त्रण, जलनिकास व्यवस्थापन र जोखिम न्युनीकरणका योजनामा विशेष ध्यान दिन आवश्यक छ । यसका साथै, यस क्षेत्रमा रहेका सरकारी जग्गाको प्रभावकारी सदुपयोग हुन नसक्नु पनि अर्को चुनौती हो । केही खाली जग्गालाई व्यवस्थित रूपमा विकास गरी सुन्दर पार्क तथा हरित क्षेत्र निर्माण गर्न सकिन्छ । यस्ता स्थानलाई रमणीय र आकर्षक बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने वातावरण तयार गर्नु आवश्यक छ । योजनाबद्ध ढंगले पूर्वाधार र हरियाली प्रवद्र्धन गर्न सके यस क्षेत्रलाई सुन्दर, सुरक्षित र व्यवस्थित नमुना क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।

सडक, खानेपानी, ढल तथा ट्राफिक व्यवस्थापन जस्ता पूर्वाधार समस्यालाई कसरी समाधान गर्ने योजना छ ?

काठमाडौँँ क्षेत्र नं. १ मा सडक र ट्राफिक व्यवस्थापन अत्यन्त जटिल बन्दै गएको छ । विभिन्न आन्दोलन, भीडभाड र सवारी चापका कारण बारम्बार जामको समस्या देखिन्छ । त्यसैले यातायात व्यवस्थापनलाई व्यवस्थित, दीर्घकालीन र व्यावहारिक योजनासहित अघि बढाउन आवश्यक छ । सरकारी जग्गाको संरक्षण गर्दै सम्भव भएसम्म व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने, केही खाली स्थानलाई पार्किङका रूपमा विकास गर्ने र ‘पार्क एन्ड वाक’ अवधारणालाई प्रोत्साहन गर्ने योजना प्रभावकारी हुन सक्छ। यसले सवारी चाप घटाउने र क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पु¥याउनेछ । खानेपानी र ढल व्यवस्थापन जस्ता आधारभूत पूर्वाधारका समस्या धेरै हदसम्म स्थानीय तहसँग समन्वय गरेर समाधान गर्न सकिने प्रकृतिका छन् । त्यसैले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै चरणबद्ध रूपमा सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्छ । साना तर महत्वपूर्ण समस्यालाई समयमै सम्बोधन गर्न सके यस क्षेत्रलाई नमुना र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । यस लक्ष्य प्राप्तिका लागि म निरन्तर पहल गर्नेछु ।

पार्टीको घोषणापत्र कार्यान्वयनका विषयमा तपाईँको धारणा के कस्ता छन् ?

पार्टीको घोषणापत्र व्यावहारिक र कार्यान्वयनयोग्य दस्तावेज हो भन्ने मेरो विश्वास छ । यसमा विशेषगरी नव पुस्तालाई लक्षित गर्दै १० जीबी निःशुल्क डाटा उपलब्ध गराउने, विद्यार्थीलाई विश्व प्रतिस्पर्धी बनाउने तथा युवालाई प्रविधिमैत्री बनाउने विषय समेटिएका छन् । महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्न २० लाख रुपैयाँसम्मको ब्याजमुक्त ऋणको अवधारणा र प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीलाई सहुलियत कर्जा दिने व्यवस्था पनि सकारात्मक कदम हुन् । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका प्रतिबद्धताहरू योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सके पार्टीले गरेका वाचा पूरा गर्न सक्नेमा म विश्वस्त छु ।

अव्यवस्थित सहरीकरण र वातावरणीय प्रदूषण नियन्त्रणका लागि तपाईँको मु्ख्य दृष्टिकोण के छ ?

अव्यवस्थित सहरीकरण र बढ्दो प्रदूषण आजको गम्भीर चुनौती हो, जसमा विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा पनि स्पष्ट देखिन थालेको छ । त्यसैले योजनाबद्ध सहरी विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन आवश्यक छ । विशेषगरी वागमती कोरिडोर आसपास बसोबास गर्ने समुदायलाई व्यवस्थित गर्दै हरियाली बगैँचा तथा खुला क्षेत्रको विकास गर्नुपर्छ । साथै, यस क्षेत्रमा रहेका सरकारी कार्यालय परिसरभित्रसमेत व्यापक वृक्षारोपण र हरित क्षेत्र विस्तार गर्न सके वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा तपाईँको योजना के हो ?

नेपाल ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण देश हो, र काठमाडौँँँ विशेषगरी मन्दिर र सांस्कृतिक धरोहरले समृद्ध छ । मेरो क्षेत्रमा पनि भद्रकाली जस्ता महत्वपूर्ण स्थलहरू रहेका छन् । यी सम्पदाहरूको संरक्षणका लागि व्यवस्थित योजना बनाएर अतिक्रमण रोक्ने, सबैको पहुँच सुनिश्चित गर्ने र प्राविधिक सहयोगमार्फत संरक्षण तथा व्यवस्थापन अघि बढाउने मेरो प्राथमिक लक्ष्य हुनेछ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय कसरी प्रभावकारी बनाउनुहुन्छ ?

स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वयका लागि तीनै तहको जिम्मेवारी स्पष्ट परिभाषित गर्नु आवश्यक छ । जनतालाई प्रत्येक तहले गर्ने कामबारे जानकारी गराउने र सबै निकायसँग सहकार्य गर्दै योजनाबद्ध रूपमा अघि बढाउने मेरो प्राथमिकता हुनेछ । यसरी मात्र नीतिगत निर्णय प्रभावकारी र कार्यान्वयन योग्य बन्न सक्छ ।

युवालाई रोजगारी सिर्जना गर्ने तपाईँको ठोस कार्यक्रम के हो ?

युवालाई रोजगारी सिर्जना गर्न प्रविधिमैत्री बनाउनु आवश्यक छ । पार्टीको घोषणापत्रअनुसार युवालाई आईटी र डिजिटल सीपमा सशक्त बनाउने, उद्योगसँग जोड्ने र विश्व बजारसँग प्रतिस्पर्धी बनाउने योजना मेरो प्राथमिकता हो । यसले दक्ष जनशक्तिको विकाससँगै दीर्घकालीन रोजगारी सिर्जना गर्नेछ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधारका लागि तपाईँको नीति के छ ?

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधारका लागि म ठोस र योजनाबद्ध कदम चाल्ने योजना बनाएको छु । स्थानीय सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूको व्यवस्थापन सुधार्न सरकारसँग समन्वय गर्नेछु । साथै, महानगरले प्रदान गरिरहेको घरघरमा स्वास्थ्य सेवा अझ प्रभावकारी र नवीन तरिकाले सञ्चालन गरिनेछ ।

साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्न के योजना छ ?

साना र मझौला व्यवसाय प्रवद्र्धन गर्न ठुला उद्योग मात्र होइन, यी व्यवसायलाई पनि प्राथमिकता दिन आवश्यक छ । उचित वातावरण सिर्जना गरी साना व्यवसायीलाई सहयोग, प्रोत्साहन र दक्ष श्रमिकसँग जोड्ने माध्यमबाट काम गर्ने वातावरण बनाउने मेरो योजना छ ।

पर्यटन प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन के पहल गर्नुहुन्छ ?

स्थानीय अर्थतन्त्र मजबुत बनाउन पर्यटन र जलस्रोत क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै, पर्यटकको सुरक्षा सुनिश्चित गर्ने र स्रोतको व्यवस्थित व्यवस्थापन गर्ने मेरो मुख्य पहल हुनेछ । यसले दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

वर्तमान कर प्रणालीबारे तपाईँको धारणा के छ ?

वर्तमान कर प्रणालीमा केही कानुनी दुविधा र जटिलता देखिन्छ । संविधान जारी भएपछि पुराना कानुन हटाउँदै नयाँ कानुन बनाइरहेका छौँ । कर तिर्नु हाम्रो दायित्व मात्र नभई सामाजिक सुरक्षा सुनिश्चित गर्ने माध्यम हो भन्ने जनचेतना जगाउन आवश्यक छ । रजिस्ट्रेसन र अन्य करसम्बन्धी कार्यलाई सहज र एकै ढाँचामा व्यवस्थापन गर्न मेरो अनुभव प्रयोग गरी प्रभावकारी कदम चाल्ने योजना छ ।

महिला, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायको सशक्तीकरणका लागि तपाईँको रणनीति के हो ?

महिला, दलित, जनजाति र अन्य सीमान्तकृत समुदायको सशक्तीकरण हाम्रो प्राथमिकता हो । पार्टीको घोषणापत्र र संविधानअनुसार उनीहरूको समान अधिकार सुनिश्चित गर्दै कानुनी एकीकरण र पहुँचको व्यवस्था गर्न सक्रिय भूमिका निर्वाह गर्ने मेरो योजना छ ।

लैङ्गिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न कस्ता कानुनी वा नीतिगत सुधार आवश्यक ठान्नुहुन्छ ?

लैङ्गिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न आवश्यक कानुनी र नीतिगत सुधारहरूमा दिर्घकालीन समानता सुनिश्चित गर्ने कानुनहरूको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण छ । म यस प्रक्रियामा उचित व्यवस्थापन र निगरानी गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता राख्छु ।

संघीय संरचनाको प्रभावकारिता बारे तपाईँको मूल्याङ्कन के छ ?

संघीय संरचनाको प्रभावकारिता सुनिश्चित गर्न सबै क्षेत्र र तहमा समानुपातिक बजेट वितरण अत्यावश्यक छ । स्रोतको न्यायोचित व्यवस्थापन र समान अवसर सुनिश्चित गर्दै बजेट विनियोजन गर्दा संघीय प्रणाली प्रभावकारी र दिगो बन्न सक्छ ।

संसद्मा निर्वाचित भएमा तपाईँले उठाउने पहिलो प्रस्ताव के हुनेछ ?

संसद्मा निर्वाचित भए मेरो पहिलो प्रस्ताव संविधानको रक्षा र सुशासन सुनिश्चित गर्ने हुनेछ । हाल भइरहेका कामहरूलाई प्रभावकारी र व्यवस्थित बनाउँदै भविष्यमा कुनै समस्या उत्पन्न नहुने वातावरण सिर्जना गर्ने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउनेछु ।

राष्ट्रिय स्तरका प्रमुख मुद्दा (आर्थिक सुधार, परराष्ट्र नीति, ऊर्जा संकट आदि) मा तपाईँको धारणा के छ ?

राष्ट्रिय स्तरका आर्थिक सुधार, परराष्ट्र नीति र ऊर्जा जस्ता प्रमुख मुद्दामा हाम्रो पार्टीले पृथक दृष्टिकोण अपनाएको छ । छिमेकी मुलुकप्रति समान दृष्टिकोण राख्दै सबैसँग मित्रवत् सम्बन्ध विकास गर्नुपर्नेछ । हामी स्वाधीनतामा आधारित निर्णय गर्दै छिमेकी राष्ट्रहरूको उच्च सम्मान गर्दै कूटनीतिक र आर्थिक सम्बन्ध अगाडि बढाउनेछौँ ।

तपाईँको जितपछि मतदातासँग प्रत्यक्ष संवाद र गुनासो सुनुवाइ कसरी गर्नुहुन्छ ?

म निर्वाचित भएपछि मतदातासँग प्रत्यक्ष संवाद कायम राख्ने मेरो प्राथमिकता हुनेछ । नियमित भेटघाट, छलफल र प्रभावकारी माध्यममार्फत उनीहरूको समस्या, सुझाव र गुनासो सुन्ने सुनिश्चित गर्नेछु ।

तपाईँ एउटा सफल व्यवसायी हुँदाहुँदै किन राजनीतिमा लाग्नुभयो ?

म व्यवसायमा सफल भए पनि राजनीतिमा लाग्नुको कारण राजनीति केवल कमाउने माध्यम होइन, सामाजिक सेवा गर्ने अवसर हो भन्ने मेरो दृढ विश्वास हो। नेपालमा सकारात्मक परिवर्तन ल्याउन, जनताको जीवनस्तर सुधार्न र समाजका चुनौती समाधान गर्न सक्ने क्षमता प्रयोग गर्ने उद्देश्यले म राजनीतिमा आएको हुँ । राजनीति मार्फत सेवा गर्दा प्राप्त हुने सन्तुष्टि नै मेरो प्रेरणा हो ।

अन्त्यमा, काठमाडौँँँ क्षेत्र नं. १ का मतदातालाई तपाईँको सन्देश के छ ?

अन्त्यमा, म काठमाडौँँँ क्षेत्र नं. १ का सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्न चाहन्छु कि यस क्षेत्रलाई नेपालकै व्यवस्थित, सुरक्षित र सुन्दर नमुना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट योजना र प्रतिबद्धता मसँग छ । विकास, सुशासन र उत्तरदायी नेतृत्वका लागि म पूर्ण समर्पणका साथ काम गर्नेछु । तपाईँहरूको अमूल्य मत र विश्वासले मात्र यो प्रयास सफल हुनेछ । एकपटक मलाई अवसर दिनुहोस्, र म तपाईँहरूको अपेक्षा र भरोसालाई व्यवहारमा उतार्ने वाचा गर्दछु ।

-कानुन निर्माणलाई प्राथमिकता

-बाढी जोखिम न्युनीकरणको प्रयासमा समर्पित हुन्छु

-सडक र ट्राफिक सुधार मेरो उच्च प्राथमिकता

-युवालाई रोजगारी सिर्जना गर्ने विशेष रणनीति ल्याउनेछु

-शिक्षा र स्वास्थ्य सुधारको योजनाअनुसार काम गर्नेछु

-साना व्यवसाय प्रवद्र्धनमा विशेष जोड दिइने छ

-पर्यटन र जलस्रोत विकासमा विशेष ध्यान दिइने छ

-युवालाई आईटी र डिजिटल सीपमा सशक्त बनाउँछु

-राजनीतिमार्फत सधँ जनताको सेवामा समर्पित हुनेछु