चितवनका तीन क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना, कडा सुरक्षा घेरामा पेटिका ल्याइने


भरतपुर।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान समय साँझ ५ बजेसम्म कायम गरिएको छ । मतदान सम्पन्न भएलगत्तै चितवनका तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित मतगणनास्थलमा पुर्‍याई सोही दिनबाट मतगणना सुरु गरिने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले क्षेत्रअनुसार छुट्टाछुट्टै स्थानमा मतगणना हुने जानकारी दिए । उनका अनुसार चितवन क्षेत्र नम्बर १ को मतगणना खैरहनीस्थित झुवानी बहुमुखी क्याम्पसमा, क्षेत्र नम्बर २ को मतगणना भरतपुरको प्रदर्शनी केन्द्रमा तथा क्षेत्र नम्बर ३ को मतगणना रामपुर कृषि क्याम्पसको भवनमा गरिनेछ ।

मतगणना प्रक्रिया पूर्ण रूपमा सुरक्षित वातावरणमा सञ्चालन गरिने जनाइएको छ । मतपेटिका मतदान सम्पन्न भएलगत्तै कडा सुरक्षा व्यवस्थासहित गणनास्थलमा ल्याइनेछ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मतपेटिका सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ । तीन तहको सुरक्षा घेराभित्रै मतपेटिका गणनास्थलसम्म पुर्‍याइने उनले बताए ।

मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले मतगणनामा सबै उम्मेदवारका प्रतिनिधि सहभागी रहने जानकारी दिँदै गणनास्थललाई पूर्ण रूपमा नियन्त्रण क्षेत्रमा राखिने बताए । मतगणनाको प्रगति तथा परिणाम समय–समयमा सार्वजनिक गरिने पनि उनले स्पष्ट पारे ।

निर्वाचन सामग्री वितरण फागुन १८ गते बिहान ७ बजेदेखि सुरु हुने जनाइएको छ । सो दिन मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई आवश्यक सामग्री उपलब्ध गराई सम्बन्धित मतदान केन्द्रतर्फ पठाइनेछ । प्रशासनका अनुसार यसपटक ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइने तयारी गरिएको छ ।