सर्वोच्च नेता खामेनीको हत्यापछि इरानकाे कडा प्रतिक्रिया, बदला लिने चेतावनी


एजेन्सी ।

इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने बताएका हुन् । राष्ट्रपति पेजेस्कियानको कार्यालयले आइतबार एक विज्ञप्तिमा जारी गर्दै यो घटनालाई अनुत्तरित नछाडिने र अपराधीहरूलाई कडा सजाय दिइने स्पष्ट पारेकाे छ। राष्ट्रपति पेजेस्कियानले सर्वोच्च नेताको बलिदानले अमेरिकी–जियोनिस्ट दमन र अपराधलाई जरैदेखि उखेल्ने दावी गरे ।

उनले नेता खामेनीको रगत एउटा गर्जिरहेको झरना जस्तै बग्ने र त्यसले अन्यायको अन्त्य गर्ने उल्लेख गरेका छन् । इरानले आफ्ना सम्पूर्ण शक्ति र दृढ संकल्पका साथै विश्वभरका इस्लामिक राष्ट्र र स्वतन्त्र मानिसहरूको समर्थनमा यस हत्याका योजनाकार र कार्यान्वयन गर्नेहरूलाई पछुतो गराउने प्रतिज्ञा समेत गरेको हाे।

साेही घटनाको शोकमा इरानमा ४० दिनसम्म राष्ट्रिय शोक घोषणा गरिएको छ। साथै राष्ट्रपतिले ७ दिनसम्म सार्वजनिक बिदा दिने निर्णय समेत गरेका हुन् ।