काठमाडौं ।
निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी, गैरसकारी संस्था र सञ्चार माध्यम गरी हालसम्म आचारसंहिता उल्लंघनका ८७ वटा उजुरी सम्बन्धमा सोधेको पाइएको छ ।
आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले ८७ वटा उजुरी सोधेकोमा हालसम्म ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ । हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको थियो ।
दर्ता भएका सञ्चार माध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हँुदै भनी समाचार सामग्री प्रकाशन गर्ने अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको थियो ।
जिल्ला स्तरमा समेत निर्वाचन आचारसंहिना उल्लंघनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।











प्रतिक्रिया