दाइजोमुक्त छोराको विवाहः चन्द्रनगरका अध्यक्ष महतोले आफ्नै घरबाट देखाए उदाहरण


सर्लाही ।

मधेश क्षेत्रमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आउनुभएका चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफ्नै घरबाट व्यवहारिक उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँका छोरा आदित्य महतोको विवाह दाइजो नलिई सादगीपूर्ण, मर्यादित र सामाजिक सन्देशसहित हुने भएको छ ।

विवाहको निमन्त्रणा कार्डमै “दहेज मुक्त विवाह, बाल विवाह मुक्त विवाह” जस्ता स्लोगन उल्लेख गरी सामाजिक सन्देश प्रवाह गरिएको छ। कार्डमार्फत नै दाइजो प्रथाविरुद्धको स्पष्ट अडान सार्वजनिक गरिएकाले यस कदमलाई थप अर्थपूर्ण मानिएको छ।

नेपालको तराई–मधेश क्षेत्रमा दाइजो प्रथा सामाजिक प्रतिष्ठासँग जोडिएको मानिने भएकाले यसको विरोध गर्नु मात्र होइन, आफ्नै परिवारमा लागू गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। सामाजिक दबाब, परम्परागत सोच, नातागोताका अपेक्षा र आलोचनाबीच अध्यक्ष महतोले दाइजो नलिने निर्णय गरेर “पहिले आफू परिवर्तन, त्यसपछि समाज परिवर्तन” भन्ने सन्देश व्यवहारमै उतार्नुभएको छ।

अध्यक्ष महतोले सामाजिक सञ्जालमार्फत दाइजोमुक्त विवाहको स्लोगन अंकित निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आफूले अभियान आफ्नै घरबाट सुरु गरेको बताउनुभएको छ। बालविवाह र दाइजो प्रथाविरुद्ध अभियान चलाउँदा आम नागरिकले “नेतृत्वले आफैं व्यवहारमा लागू गर्छ कि गर्दैन” भन्ने सन्देह व्यक्त गर्ने गरेको उल्लेख गर्दै उहाँले आज आफ्नै एकमात्र छोराको बिना दाइजो विवाह गरेर सामाजिक परिवर्तनका लागि स्पष्ट सन्देश दिएको बताउनुभयो।

अध्यक्ष महतो “Child Marriage & Dowry Eradication National Campaign Nepal”का राष्ट्रिय अभियन्ताका रूपमा विगत केही वर्षदेखि दाइजो तथा बालविवाह उन्मूलनका लागि सक्रिय रहँदै आउनुभएको छ। उहाँले मधेश केन्द्रित जनचेतनामूलक सभा, अन्तरक्रिया तथा विद्यालय–कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै दाइजो नलिने–नदिने संस्कार विकास गर्न पहल गर्नुभएको छ।

विवाहमा अनावश्यक तडक–भडक कम गर्ने, दाइजो प्रथाविरुद्ध सार्वजनिक प्रतिबद्धता अभियान चलाउने, युवालाई शपथ अभियानमार्फत सहभागी गराउने तथा स्थानीय तहमा दाइजोमुक्त विवाहलाई प्रोत्साहन गर्ने नीति निर्माणमा उहाँको सक्रियता उल्लेखनीय मानिन्छ। महिला अधिकारकर्मी, सामाजिक अभियन्ता र धार्मिक अगुवासँग सहकार्य गर्दै सामूहिक जागरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।

स्थानीयवासी, युवा तथा सामाजिक अभियन्ताहरूले अध्यक्ष महतोको यस कदमलाई मधेशमा दाइजो प्रथा अन्त्यतर्फको प्रेरणादायी पहलका रूपमा लिएका छन्। नेतृत्व तहबाट देखिएको यस्तो निर्णयले समाजमा सकारात्मक बहस र परिवर्तनको वातावरण सिर्जना गरेको जनाइएको छ। विवाह कार्डमै स्लोगन राखेर जनचेतना फैलाउने प्रयासले अन्य परिवारलाई पनि सोच परिवर्तन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष महतोको यो पहल केवल व्यक्तिगत निर्णय मात्र नभई दाइजोमुक्त, बालविवाहमुक्त र समानतामूलक समाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सामाजिक सुधारका अभियान व्यवहारमा उतारिँदा मात्र दीर्घकालीन परिवर्तन सम्भव हुने सन्देश उहाँको कदमले दिएको छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले आफ्नो एकमात्र छोराको आदर्श विवाह गर्दै समाजमा उदाहरणीय काम गर्नुभएको हो। मधेशकै पछाडि परेका दलित मुसहर समुदायको उत्थानका लागि ‘भोर’ संस्थामार्फत अभियान चलाएर चर्चामा आएका उहाँ पछिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

निर्वाचित भएलगत्तै उहाँले बालविवाह अन्त्य गर्न ठोस निर्णय गर्दै प्लस टु उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने कार्यक्रम लागू गर्नुभएको थियो। यस अभियानले हजारौँ छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुका साथै बालविवाह रोक्न महत्वपूर्ण योगदान पु¥याएको बताइन्छ।

समाजमा व्याप्त कुरीतिविरुद्ध नेतृत्वले देखाएको यस्तो उदाहरणले आगामी दिनमा दाइजो प्रथा न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा थप बल पुग्ने विश्वास गरिएको छ।