एडीबीको दक्षिण एसिया महानिर्देशकमा श्रेष्ठ


काठमाडौं ।

एशियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया विभागको महानिर्देशक पदमा डा. सोना श्रेष्ठलाई नियुक्त गरेको छ । मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम तथा साझेदारीको समग्र नेतृत्व सम्हाल्नेछिन्।

नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले दक्षिण एसिया जस्तो गतिशील र विविधतायुक्त क्षेत्रको नेतृत्व गर्ने अवसर पाउँदा आफू गौरवान्वित भएको बताइन्। सदस्य राष्ट्रहरूसँग घनिष्ठ सहकार्य गर्दै समावेशी, लचिलो र दिगो विकासका लागि एडीबीको संलग्नता थप सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरिन्।

डा. श्रेष्ठ विकास वित्त र नीतिगत नेतृत्वमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। उनीसँग २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव छ, जसमा २३ वर्ष एडीबीमै बिताएकी छन्। यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशक थिइन्। साथै, एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक तथा इन्डोनेसियाकी उप–देश निर्देशकका रूपमा समेत कार्यसम्पादन गरिसकेकी छन्।
एडीबीमा प्रारम्भिक कार्यकालदेखि नै उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा विविध जिम्मेवारी सम्हाल्दै क्षेत्रगत अनुभव हासिल गरेकी थिइन् ।

श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन्। उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक अध्ययन पूरा गरेकी हुन् । एडीबीमा हाल ६९ सदस्य राष्ट्र आबद्ध छन्, जसमध्ये ५० राष्ट्र क्षेत्रीय सदस्य हुन्।