प्रधानमन्त्री कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न


काठमाडौं ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूह (PGDPS 14th) को दीक्षान्त समारोह प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच आज सम्पन्न भएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्दै दीक्षित अधिकृतहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिन् । उनले परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखापरेको वर्तमान सन्दर्भमा प्रहरीको भूमिका केवल आदेश पालनामा सीमित नरही विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने बताइन् । कुनै पनि राजनीतिक प्रभाव र पूर्वाग्रहबाटमाथि उठेर कानूनको मर्मअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

सोही समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले दीक्षित प्रहरी अधिकृतहरू केवल निलो बर्दीधारी मात्र नभई राज्यका प्रतिनिधि, कानूनका संरक्षक र जनविश्वासका वाहक भएको उल्लेख गर्दै सोही अनुरूप जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्दै दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत गरे । उनले राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरी अधिकृतको रूपमा आफूलाई स्थापित गर्न दीक्षित अधिकृतहरू सफल हुने विश्वास व्यक्त गरिन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनुका साथै स्वागत मन्तव्य र तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । समारोहमा प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूले कवाज प्रदर्शन गर्नुका साथै नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा सांगीतिक प्रस्तुति गरिएको थियो ।

मिति २०८१ साउन २१ गतेदेखि सञ्चालन भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहमा ९ जना महिला र ८३ जना पुरुष गरी कुल ९२ जना प्रशिक्षार्थी सहभागी थिए । तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने सर्वप्रथम तथा शारीरिक क्षमता एवं आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेत, सर्वद्वितीय प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रहरी निरीक्षक तारा बहादुर तामाङ, अध्ययन प्रथम प्रहरी निरीक्षक नविनकुमार शाही, कवाज प्रथम प्रहरी निरीक्षक ईश्वर महत, मस्केट्री तथा चाँदमारी प्रथम प्रहरी निरीक्षक श्रीमान चाई तथा प्रहरी युक्ति तथा कारबाही प्रथम प्रहरी निरीक्षक दिनेशप्रसाद रिमाल पुरस्कृत भएका थिए ।

दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य तथा प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, सञ्चारकर्मी, प्रशिक्षार्थीका अभिभावक तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।