निर्वाचन प्रहरी आवेदन दर्ता दुई दिन थप

1.79k
Shares

खोटाङ। 

 खोटाङमा निर्वाचन प्रहरी आवेदन दर्ताका लागि दुई दिनको समय थप गरिएको छ । गत पुस–२५ देखि माघ ३ गतेसम्म दरखास्त आव्हान गरिएकोमा पूनः माघ ११ र १२ गतेको लागि थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले उल्लेख गरेको छ । 

जिल्ला प्रहरी कार्यालय खोटाङले जारी गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयहरु खोटाङबजार, हलेसी, चिसापानी र ऐसेलुखर्कबाट आवेदन दर्खास्त दिन सकिने छ ।  

 प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा माग गरिएको निर्वाचन प्रहरीको  आवश्यक संख्या भन्दा पनि कम दरखास्त परेपछि दर्खास्त अवधि थप गरिएको जनाइएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङको लागि निर्धारण गरिएको एक हजार २ सय ८२ जना निर्वाचन प्रहरीका लागि आवेदन आह्वान गरिएकामा एक हजार १ सय ७३ जनाको मात्रै दरखास्त परेको छ । 

आगामी निर्वाचनका लागि खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी रविन मगरले जनाए ।