काठमाडौं ।
कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले निर्णायक योगदान दिए। उनले ३६ बलमा अविजित ५१ रन बनाए। इसान पाण्डेले ३१ बलमा ३७ रन जोड्दा ब्रान्डन म्याकमलेनले १२ बलमा आक्रामक २२ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक अविजित ४० रन बनाए। उनले २५ बलको सामना गरे। मेहेदी हसनले २१ बलमा ४ चौका र १ छक्कासहित ३२ रन जोड्दा कप्तान कुशल मल्लले १७ बलमा २१ रन बनाए।
पोखरालाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा सुदूरपश्चिमका अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेन र हेमन्त धामीले समान १ विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित निकालेको छ। पोखरा एभेन्जर्सले भने यस संस्करणको आफ्नो पहिलो खेलमै हार बेहोरेको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्।











प्रतिक्रिया