चिरपट प्रहारबाट ६२ वर्षीय वृद्धको मृत्यु, आरोपित पक्राउ


काठमाडौँ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिरपट प्रहारबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ः३० बजे सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीमाथि चिरपट प्रहार गरेका थिए। विकले राजीको टाउको र बायाँ खुट्टामा प्रहार गर्दा उनी घाइते भएका थिए।

घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। अस्पतालले सोही दिन दिउँसो २ः१२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।