काठमाडौं ।
कमल ऐरीको उत्कृष्ट बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। एक समय १३२ रनमा चार विकेट गुमाएर बलियो अवस्थामा रहेको विराटनगरले त्यसपछि थप १७ रन जोड्दा बाँकी ६ विकेट गुमाएपछि जितनजिक पुगेर पनि पराजय बेहोर्नुपर्यो।
चितवनको जितमा कमल ऐरी नायक बने। उनले २६ रन खर्चेर चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिँदा टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले एक–एक विकेट हात पारे।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले ३३ तथा लोकेश बमले २६ रनको योगदान दिए। रसेल क्रिजमा रहँदासम्म जितको सम्भावना बलियो देखिएको विराटनगर उनको विकेटपछि दबाबमा परेको थियो। त्यसपछि चितवनका बलरले लगातार विकेट लिँदै टोलीलाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका ओपनर डेभिड मलानले सर्वाधिक ७० रनको योगदान दिए। कप्तान रवि बोपारा ३२ तथा ड्यान मौस्ले २९ रनमा अविजित रहे।
विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले एक–एक विकेट लिए।
चितवनले ब्याटिङमा बनाएको प्रतिस्पर्धात्मक योगफललाई बलरहरूले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै जोगाए। विशेषगरी कमल ऐरीको निर्णायक स्पेलले विराटनगरको जितको सम्भावना समाप्त पार्दै चितवनलाई एनपीएलको तेस्रो संस्करणमा सुखद सुरुवात दिलायो।











प्रतिक्रिया