काठमाडौं ।
साउदी अरेबियामा पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा साउदी अरेबियाका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो ।
दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन विशेष जोड दिइएको छ । साथै, आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न र अरूलाई समेत नपठाउन नेपाली नागरिकलाई सचेत गराइएको छ ।
त्यसैगरी, साउदी अरेबियाबाट नेपाल वा अन्य मुलुकमा हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई आफ्नो उडानको अवस्थाबारे पहिले नै जानकारी लिन दूतावासले आग्रह गरेको छ । उडानको निर्धारित समय परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र विमानस्थल जान अनुरोध गरिएको छ ।
दूतावासले सुरक्षा अवस्था वा अन्य कुनै कारणले सहयोग आवश्यक परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
दूतावासले जारी गरेको सूचनाअनुसार नेपाली नागरिकले आधिकारिक जानकारीलाई प्राथमिकता दिँदै सुरक्षा सतर्कता अपनाउन र अपुष्ट सूचना फैलिन नदिन ध्यान दिनुपर्नेछ ।












प्रतिक्रिया