भक्तपुर ।
अविरल वर्षापछि घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्नुभएकाे दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ।
प्रदेश सरकारबाट स्रोत सुनिश्चितता भएपछि सूर्यविनायक नगरपालिकाले कटान नियन्त्रण तथा जोखिम न्यूनीकरणसम्बन्धी कामका लागि ठेक्का आह्वान गरेको छ।
वर्षाकाे बाढीले बस्ती आसपासको क्षेत्र कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तत्काल घटनास्थलको अवलोकन तथा निरीक्षण गर्दै आपत्कालीन व्यवस्थापनका लागि प्रदेश सरकारबाट दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकाे थियाे। सोही प्रतिबद्धताअनुसार आवश्यक बजेटको स्रोत सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढेको हो।
मुख्यमन्त्री थापा मगरले प्रतिबद्धताअनुसार काम अघि बढेको जनाउँदै आगामी वर्षायामअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयाे। ठेक्का प्रक्रिया पूरा भएसँगै निर्माण कार्य सुरु हुने र निर्धारित समयभित्र काम सम्पन्न हुने उहाँकाे अपेक्षा छ।
बाढीले बस्ती आसपास कटान गरेपछि स्थानीय बासिन्दामा थप क्षति हुन सक्ने चिन्ता बढेको थियो। वर्षायाममा खोलाको बहाव बढ्दा बस्तीमा जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कटान नियन्त्रणको काम अघि बढाइएको हो।
मुख्यमन्त्री थापा मगरले प्रतिबद्धता जनाउनु मात्र नभई त्यसलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै आफूहरु शासक नभएर जनताको सेवक भएकाे बताउनुभयाे । ‘हामी बोल्दैनौँ मात्र, बोलेको कुरा कार्यान्वयन गरेर नै छोड्छौँ, किनकि हामी शासक होइनौँ, सेवक हौँ र हजुरहरूको सेवामा हरदिन, हररात तयार छौँ’, उहाँले भन्नुभयाे ।
प्रदेश सरकारबाट स्रोत सुनिश्चित भएसँगै नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाउनु बाढीको जोखिममा रहेका स्थानीय बासिन्दाका लागि राहतको विषय बनेको छ। अब निर्माण कार्य समयमै सुरु भई आगामी वर्षायामअघि सम्पन्न भएमा घट्टेखोला आसपासको कटानबाट हुने सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया