दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी


काठमाडौं ।

यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्ष दशैंमा १५५ वटा सवारी दुर्घटना भएकामा यस वर्ष १०५ वटा दुर्घटना भएका छन् । गत वर्ष दुर्घटनामा परी १० जनाको मृत्यु भएकामा यस वर्ष तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार तीव्र गति र दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाका प्रमुख कारण रहेका छन् । चाडपर्व लक्षित सुरक्षा योजना, नियमित निगरानी, सवारी जाँच तथा ट्राफिक प्रहरी र जनपथ प्रहरीबीचको समन्वयले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ।

दुर्घटना घटे पनि तीव्र गति र ट्राफिक नियम उल्लंघनबाट जोखिम कायमै रहेकाले प्रहरीले चालकलाई गति नियन्त्रण गर्न र सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।