कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका


काठमाडौं ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा खटिएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रविन थापाले महिला, शान्ति र सुरक्षाको एजेन्डालाई सैन्य कारबाही र नागरिक सुरक्षासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मोनुस्को (MONUSCO) मा गण कमान्डरका रूपमा सेवा गरेका थापाको नेतृत्वमा महिला शान्ति सैनिकलाई गस्ती, समुदायसँगको संवाद, सशस्त्र सुरक्षा टोली तथा आपत्कालीन उद्धार र सुरक्षा अभियानमा सक्रिय रूपमा सहभागी गराइएको थियो । परम्परागत रूपमा पुरुषको वर्चस्व रहेका जिम्मेवारीमा समेत महिला शान्ति सैनिकलाई अवसर दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

महिला शान्ति सैनिकको सक्रिय सहभागिताले स्थानीय महिला तथा बालिकाका समस्या बुझ्न, समुदायसँग विश्वासको सम्बन्ध स्थापित गर्न र नागरिक सुरक्षाका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको थियो ।

कंगोमा हिंसाका घटनापछि हजारौँ नागरिकले संयुक्त राष्ट्रसंघका आधार शिविरनजिक सुरक्षा खोजेका बेला थापाको बटालियनले गस्ती र नागरिक संरक्षणका उपायलाई थप सुदृढ बनाएको थियो । सुरक्षा खोज्ने नागरिकमध्ये महिला र बालबालिकाको ठूलो हिस्सा रहेको अवस्थामा उनीहरूको आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राखिएको थियो ।

थापाले महिला शान्ति सैनिकलाई समुदायस्तरीय संवाद तथा शिक्षामा पहुँच बढाउने पहलमा समेत सक्रिय भूमिका दिएका थिए । सुरक्षा जोखिम बढेको एक क्षेत्रमा विद्यार्थीलाई सुरक्षित रूपमा परीक्षा केन्द्रसम्म पुर्‍याउन उनको बटालियनले सुरक्षा प्रदान गरेको थियो । उक्त टोलीले नौ बालिकासहितका विद्यार्थीलाई परीक्षा दिन सुरक्षित रूपमा पुग्न सहयोग गरेको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार महिला, शान्ति र सुरक्षा (Women, Peace and Security—WPS) को एजेन्डा सैन्य अभियानभन्दा अलग विषय नभई शान्ति स्थापनाको योजना, स्थानीय समुदायसँगको सहकार्य र नागरिक संरक्षणको अभिन्न हिस्सा हो ।

महिला शान्ति सैनिकलाई नेतृत्व र जिम्मेवारीमा अवसर दिने, स्थानीय महिलाका आवाज सुन्ने तथा उनीहरूको दृष्टिकोणलाई सुरक्षा अभियानमा समेट्ने अभ्यासले शान्ति स्थापनालाई थप समावेशी र प्रभावकारी बनाउन सक्ने थापाको नेतृत्वले देखाएको छ ।

महिला, शान्ति र सुरक्षा एजेन्डालाई व्यवहारमा उतार्न योगदान पुर्‍याउने शान्ति सैनिकहरूको सम्मान गर्दै संयुक्त राष्ट्रसंघले यस महिनामा लेफ्टिनेन्ट कर्णेल थापाको भूमिकालाई विशेष रूपमा प्रस्तुत गरेको छ ।

नेपालको शान्ति स्थापनासम्बन्धी योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यस्ता अभ्यासले नेपाली सेनाको व्यावसायिक क्षमता, नागरिक संरक्षणप्रतिको प्रतिबद्धता र लैङ्गिक समावेशिताको महत्त्वलाई समेत उजागर गरेका छन् ।