‘पहाड र मधेसबीच टिप्पणी होइन, संवाद हुनुपर्छ’ : गगन थापा


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पहाड र मधेसबीच एकअर्कामाथि टिप्पणी गर्नेभन्दा प्रत्यक्ष संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेपाली समाजका विभिन्न समुदाय, जातजाति, धर्म र पुस्ताबीच संवादको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले संसददेखि समाजका विभिन्न तहसम्म ‘खुला मञ्च’ आवश्यक रहेको बताए। संसदको गरिमा कायम राख्न प्रधानमन्त्रीको सम्मानजनक तथा जवाफदेही उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै थापाले आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने दुवै पक्षका सांसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने बताए।

थापाले संसद अहिले अवरुद्ध र बन्दजस्तो अवस्थामा रहेको टिप्पणी गर्दै संसदलाई जनताको आवाज र विचार राख्ने प्रभावकारी मञ्चका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।

समाजमा पनि एकअर्काका विषयमा धारणा बनाउने वा टिप्पणी गर्ने प्रवृत्तिभन्दा प्रत्यक्ष संवाद आवश्यक रहेको उनको भनाइ छ।

‘पहाडले मधेसका बारेमा होइन, पहाड र मधेसबीच संवाद हुनुपर्छ । एउटा जातले अर्को जातका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा धर्मले अर्को धर्मका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ,’ थापाले भने।

एउटा पुस्ताले अर्को पुस्ताका विषयमा फैसला सुनाउनेभन्दा पुस्ताबीच संवाद हुनुपर्ने उनले बताए। राज्य र नागरिकबीच समेत खुला संवादको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

डिजिटल प्लेटफर्ममा समेत तथ्य र तर्कमा आधारित बहसलाई प्राथमिकता दिनुपर्ने थापाको भनाइ छ। सामाजिक सञ्जालमा प्रतिक्रिया, आरोप–प्रत्यारोप र उत्तेजनात्मक अभिव्यक्ति बढ्दै गएको भन्दै उनले डिजिटल माध्यमलाई तथ्य, विचार र तार्किक संवादको मञ्चका रूपमा विकास गर्नुपर्ने बताए।

उनका अनुसार लोकतन्त्र केवल निर्वाचन र संसदको गतिविधिमा मात्र सीमित हुँदैन। नागरिक, समुदाय र राज्यबीच निरन्तर संवाद र सहभागिता कायम भएमा मात्रै लोकतान्त्रिक संस्कार बलियो बन्न सक्छ।

खुला संवादमार्फत सामाजिक विभाजन घटाउँदै आपसी समझदारी र सहकार्यको वातावरण बनाउनुपर्ने थापाले बताएका छन्।