नवलपुरमा बस दुर्घटना: ६ जनाको मृत्यु, ११ घाइते


काठमाडौं । 

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जाजरकोट भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाँके नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया र नामथर नखुलेका करिब ४०/४२ वर्षीय पुरुषको मृत्यु भएको छ।

दुर्घटनापछि च्यापिएका यात्रुको उद्धारका लागि दुईवटा क्रेन प्रयोग गरिएको थियो। बिहान ६:१५ बजे च्यापिएका चार पुरुषलाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको थियो।

घाइतेमध्ये केहीको अवस्था मध्यमदेखि गम्भीर रहेको छ। गम्भीर घाइते बाँके नेपालगञ्जका ४८ वर्षीय अस्लाम भगवानलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। बाजुराका ३२ वर्षीय पवन बुढालाई पनि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ।

बसमा सवार यात्रुमध्ये दुई जना सकुशल रहेको जनाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।