परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने परराष्ट्रमन्त्री खनालले बताउनुभयो।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईया) द्वारा आयोजित ‘चौथो आईया लेक्चर सिरिजमा’ मा ‘इकोनोमिक डिप्लोमेसी फर अ प्रॉस्परस नेपालः अलाइनिङ फरेन पोलिसी विथ इकोनोमिक इन्ट्रेस्ट’ (समृद्ध नेपालका लागि आर्थिक कूटनीतिः आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य) विषयमा परराष्ट्रमन्त्री खनालले प्रस्तुति दिनुभयो। परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्ने बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
मन्त्री खनालका अनुसार बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू–राजनीतिक परिस्थितिका बीच नेपालले आफ्नो कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ। त्यसका लागि विदेशस्थित नेपाली नियोगहरूलाई व्यापार, लगानी र आर्थिक सहकार्यका सक्रिय प्रवद्र्धकका रूपमा परिचालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले आर्थिक कूटनीति सरकारको एउटा मन्त्रालय वा निकायको मात्र जिम्मेवारी नभई राज्यका सबै निकाय, निजी क्षेत्र, उद्यमी, व्यवसायी र प्रवासी नेपाली समुदायको साझा प्रयासबाट अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो। आर्थिक कूटनीतिमा स्पष्ट राष्ट्रिय प्राथमिकता, संस्थागत समन्वय र परिणाममुखी कार्यशैली आवश्यक रहेको उहाँको भनाइ थियो।
परराष्ट्रमन्त्री खनालले नेपालको आर्थिक हितअनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्न स्पष्ट दृष्टिकोण र समन्वित कार्ययोजना आवश्यक रहेको बताउनुभयो। ‘विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्छ,’ उहाँको भनाइ थियो। यसका लागि सम्बन्धित सरकारी निकायबीच सहकार्य, निजी क्षेत्रसँग नियमित संवाद र विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले नेपालको निर्यात क्षमता विस्तार र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउन पनि आर्थिक कूटनीति उपयोगी हुनुपर्ने बताउनुभयो। नेपाली वस्तु तथा सेवाको बजार पहिचान, व्यापारिक सम्बन्ध विस्तार र आर्थिक साझेदारी विकासमा विदेशस्थित नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो। यसका लागि सरकारी प्रयाससँगै निजी क्षेत्रको सहभागिता र व्यावसायिक कूटनीतिको अभ्यासलाई थप सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभयो। मन्त्री खनालले पर्यटन प्रवद्र्धनलाई पनि आर्थिक कूटनीतिको महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको बताउनुभयो। नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै पर्यटक आगमन वृद्धि गर्न कूटनीतिक माध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले पर्यटन क्षेत्रको विकासले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई गति दिन सक्ने भएकाले यसलाई राष्ट्रिय आर्थिक प्राथमिकतासँग जोड्नुपर्ने बताउनुभयो।
परराष्ट्रमन्त्री खनालका अनुसार आर्थिक कूटनीतिले वैदेशिक सहायता र लगानी परिचालनमा मात्र नभई ज्ञान, सीप, प्रविधि तथा नवप्रवर्तनको आदानप्रदानमा समेत योगदान पु¥याउन सक्छ। अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालको उत्पादन क्षमता अभिवृद्धि गर्ने र विश्वव्यापी मूल्य शृङ्खलामा सहभागिता बढाउने अवसरको खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। परराष्ट्रमन्त्री खनालले नेपालको आर्थिक हितअनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्न स्पष्ट दृष्टिकोण र समन्वित कार्ययोजना आवश्यक रहेको बताउनुभयो। विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्ने उहाँको भनाइ थियो। यसका लागि सम्बन्धित सरकारी निकायबीच सहकार्य, निजी क्षेत्रसँग नियमित संवाद र विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले प्रवासी नेपाली समुदायलाई नेपालको आर्थिक विकासको साझेदारका रूपमा परिचालन गर्नुपर्नेमा पनि जोड दिनुभयो। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, व्यावसायिक सञ्जाल र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न सकिने बताउँदै परराष्ट्रमन्त्री खनालले उनीहरूसँगको सम्बन्धलाई आर्थिक सहकार्य र लगानी प्रवद्र्धनसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘समृद्ध नेपाल’ निर्माणको लक्ष्य हासिल गर्न कूटनीतिक प्रयासलाई देशको आर्थिक रूपान्तरणसँग प्रत्यक्ष रूपमा आबद्ध गर्नुपर्ने उल्लेख गर्दै मन्त्री खनालले भन्नुभयो, ‘आर्थिक कूटनीतिलाई परिणाममुखी, व्यावहारिक र राष्ट्रिय प्राथमिकतामा आधारित बनाउनुपर्छ।’ उहाँले भन्नुभयो, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबाट प्राप्त अवसरलाई उत्पादन, व्यापार, लगानी र रोजगारीमा रूपान्तरण गर्न सके मात्र कूटनीतिक सम्बन्धले राष्ट्रिय समृद्धिमा प्रभावकारी योगदान पु¥याउन सक्छ।’
उक्त अवसरमा परराष्ट्रमन्त्री खनालको सम्बोधनमा आर्थिक कूटनीति र नेपालको विदेश नीतिबीचको सम्बन्ध, आर्थिक हित प्रवद्र्धनमा कूटनीतिक संयन्त्रको भूमिका तथा राष्ट्रिय समृद्धिका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउनेलगायत विषय समेटिएको थियो। साथै, उहाँले जलवायु कूटनीतिका बारेमा पनि जोड दिनुभएको थियो। मन्त्री खनालको सम्बोधनपछि पत्रकार कुवेर चालिसे र दर्शकदीर्घाबाट प्रश्नहरू लिइएको थियो।











प्रतिक्रिया