काठमाडौं
नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले पाकिस्तानको नेतृत्वका तर्फबाट राष्ट्रपति पौडेललाई शुभकामना सन्देश सुनाउँदै नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्न पाकिस्तान तयार रहेको बताएका छन्।

पाकिस्तानी दूतावासका अनुसार राजदूत खानले दुई देशबीचको निकट तथा सौहार्दपूर्ण सम्बन्धलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। दूतावासले ओहोदाको प्रमाणपत्र प्रस्तुतिलाई नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।











प्रतिक्रिया