लमजुङ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औँ वार्षिक साधारणसभामा सदस्यलाई खसी तथा इन्डक्सन चुलो उपहार दिने भएको छ ।
संस्थाले साधारणसभामा निर्धारित समयमा उपस्थित भई कार्यक्रमको अन्त्यसम्म बस्ने सदस्यबीच गोलाप्रथा गरी पुरस्कार वितरण गर्ने जनाएको छ । मुख्य कार्यालय बेसीशहरमा तीनवटा खसी र चारवटा इन्डक्सन चुलो तथा खुदी र भोटेओडार सेवा केन्द्रमा दुईदुईवटा खसी वा बोका र इन्डक्सन चुलो प्रदान गरिनेछ।
बेसीशहरमा प्रदान गरिने खसीको मूल्य २० देखि २३ हजार रुपैयाँ तथा खुदी र भोटेओडारमा १५ देखि १८ हजार रुपैयाँसम्मको हुने संस्थाका मुख्य प्रबन्धक हिराबहादुर रावलले जानकारी दिए । उनका अनुसार सदस्यहरुको सक्रिय सहभागिता बढाउनुका साथै संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले उपहार कार्यक्रम राखिएको हो ।
साधारणसभाका अवसरमा संस्थाका २८ जना संस्थापक सेयर सदस्यलाई सम्मान गरिनेछ । यस्तै, संरक्षित पुँजी फिर्ता कोषमार्फत बढी रकम फिर्ता पाउने सदस्य, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट युवा तथा कृषक सदस्य र उत्कृष्ट बाल बचतकर्तालाई पनि सम्मान गरिने संस्थाले जनाएको छ । एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीलाई समेत सम्मान गरिनेछ ।
संस्थाको साधारणसभा असोज २३ गते मुख्य कार्यालय बेसीशहर तथा असोज २४ गते खुदी र भोटेओडार सेवा केन्द्रमा हुनेछ । साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी योजनामाथि छलफल गरिनेछ ।
पत्रकार भेटघाटका क्रममा संस्थाले गत असार मसान्तसम्म ३६ करोड ९१ लाख ९५ हजार २ सय ७८ रुपैयाँ २१ पैसा कुल सम्पत्ति रहेको र एक करोड ८ लाख ७ हजार ८ सय ५२ रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष प्रभुराम प्रधान, उपाध्यक्ष राजेन्द्र बोहरा, सचिव गोपाल परियार र कोषाध्यक्ष नन्दलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।











प्रतिक्रिया