हुम्लामा हिमपातमा परेर एक जनाको मृत्यु, बेपत्ता नौ जना मध्ये तीन जना सम्पर्कमा


हुम्ला ।

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गर्न गएका मुगुका एक जनाको मृत्यु भएको छ। नौ जना सम्पर्कविहीन मध्ये तीन जना भने सम्पर्कमा आएका छन्।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।

प्रहरीका अनुसार भदौ २८ गते पापु र छाइलबाट १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए। जडिबुटी संकलन गर्ने क्रममा सामुदायिक वन उपभोक्ता समितिले रोक लगाएपछि उनीहरू फर्किएका थिए।

फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। हिउँबाट भाग्ने क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

छ जना अझै सम्पर्कविहीन

प्रहरीका अनुसार पापुका पाँच जना र छाइलका चार जना गरी नौ जना सम्पर्कविहीन भएका थिए ति मध्ये तीन जना सम्पर्कमा आएका छन्।

सम्पर्कविहीन हुनेमा पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय छन्।

त्यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्।
विवादपछि फर्कने क्रममा घटना

स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडिबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडप भएको थियो। असोज १० गते झडप भएको बताइएको छ।
मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन्। घटनाको वास्तविक अवस्था भने पुष्टि हुन बाँकी छ।

उद्धार तथा खोजी कार्य जारी

घटनाबारे जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए।
उनका अनुसार घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको छ।
‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’

हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने बागेढुंगा सामुदायिक वन क्षेत्रमा घटनाको वास्तविक अवस्था पत्ता लगाउन दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन्।
पछिल्लो विवरणअनुसार एक जनाको मृत्यु भएको, नौ जना बेपत्ता रहेको र तीन जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।