पूर्वप्रधानन्यायाधीश जबरा मध्यराति पक्राउ, कारणबारे अन्योल


काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको छ।प्रहरीका अनुसार जबरालाई ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षाका लागि कार्यालयमा ल्याइएको हो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले राति केही हुनसक्ने सूचनापछि उनलाई कार्यालयमा राखिएको बताएका छन्।

तर जबरालाई पक्राउ गर्न प्रयोग गरिएको कानुनी आधार, पक्राउ पुर्जी तथा सुरक्षा जोखिमको प्रकृतिबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन। घटनापछि कानुन व्यवसायीहरूले समेत पक्राउको प्रक्रिया र सरकारको उद्देश्यबारे प्रश्न उठाएका छन्।नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. वीरेन्द्रप्रसाद मिश्र र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कुनै पनि नागरिकलाई नियन्त्रणमा लिँदा स्पष्ट कानुनी आधार र पारदर्शी प्रक्रिया आवश्यक हुने बताएका छन्।

सुरक्षा थ्रेट भए सुरक्षा बढाउन सकिने तर व्यक्तिलाई नै नियन्त्रणमा लिनुको कानुनी आधार स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ छ।यसैबीच, सरकारी स्रोतहरूले जबराले राजनीतिक गतिविधि बढाउनुका साथै न्यायालयका विचाराधीन मुद्दामा चासो र सक्रियता देखाएको आरोप लगाएका छन्। उनीमाथि विभिन्न संवेदनशील मुद्दाका सरोकारवालासँग भेटघाट तथा न्यायिक कामकारबाहीमा प्रभाव पार्न खोजेको आरोपसमेत लगाइएको छ।

यद्यपि, केही व्यक्तिले आफूलाई जबरासँग भेटेको भन्ने दाबीको खण्डन गरेका छन्।जबराको पक्राउको शैलीलाई लिएर सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ। कानुनविद्हरूले आरोप वा सुरक्षा चुनौती जे भए पनि राज्यले कानुनी प्रक्रिया र नागरिकको मौलिक अधिकारको पालना गर्नुपर्ने बताएका छन्।