काठमाडौँ ।
भोटेकोशीमा विनाशकारी बाढी आएको शनिवार एक महिना पुगेको छ । गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा मच्चाएको विनाशको दृश्य विस्तारै फेरिँदै गए पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा भने उस्तै छ ।
बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना र बस्ती बगायो । सयौँ परिवार विस्थापित भए । हजारौँ नागरिक प्रभावित भए । तर सबैभन्दा ठूलो पीडा ती परिवारको छ, जसले एक महिनासम्म आफ्ना आफन्त जिउँदै छन् कि छैनन् ? भन्ने जवाफसमेत पाउन सकेका छैनन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार भोटेकोशी बाढीमा परी १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५ सय ५० जना अझै बेपत्ता छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित रहेको दाबी गरिएको छ । सुरुको दिनमा जीवित मानिसको उद्धार प्राथमिकतामा थियो । त्यसपछि बेपत्ता व्यक्तिको खोजी, शव तथा मानव अंग संकलन र पहिचानतर्फ ध्यान केन्द्रित भयो । अहिले पुनःस्थापना र पुनर्निर्माणको कामसमेत अघि बढाउनुपर्ने अवस्था आएको छ । तर हराएका आफन्तको अवस्था नखुलेका परिवारका लागि पुनर्निर्माणभन्दा पहिले खोजी र पहिचान नै मुख्य विषय बनेको छ ।
बाढीपछि ठूलो संख्यामा शव तथा मानव अंग भेटिए पनि सबैको पहिचान हुन सकेको छैन । यही कारण बेपत्ता परिवारका लागि डीएनए परीक्षण अहिले सबैभन्दा महत्वपूर्ण प्रक्रिया बनेको छ ।
नेपाल प्रहरीले शव तथा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन गरिरहेको छ । पछिल्लो चरणमा ३ हजारभन्दा बढी डीएनए नमुना संकलन गरिएको विवरण गरेको थियो । शवको पहिचानमा ढिलाइ हुँदा बेपत्ता परिवारको प्रतीक्षा थप लम्बिएको छ ।
यसअघि शव पहिचानमा ढिलाइ हुनुमा ठूलो संख्यामा एकैपटक नमुना परीक्षण गर्नुपर्ने अवस्था तथा प्रयोगशालाको जनशक्ति र प्रविधिसम्बन्धी चुनौती देखिएको छ । अहिले बेपत्ता आफन्तका परिवारका लागि राहतभन्दा पनि पहिले ‘हाम्रो मान्छे कहाँ छ ?’ भन्ने प्रश्नको जवाफ पेचिलो बन्दै गएको छ ।
सरकारले खोज तथा उद्धार कार्य अन्त्य भएको औपचारिक घोषणा गरेको छैन । पछिल्लो सरकारी विवरणअनुसार खोज, उद्धार तथा राहतका काम अझै जारी छन् । तर बाढी आएको एक महिनापछि खोजीको प्रकृति र प्राथमिकता भने परिवर्तन हुँदै गएको छ ।
विपद्को एक महिनापछि पनि बेपत्ता नागरिकको विषयमा परिवारले स्पष्ट र नियमित सूचना पाउन नसकेको गुनासो गरिरहेका छन् । सरकारले बेपत्ता व्यक्तिको खोजी, पहिचान र परिवारसँग समन्वयका लागि प्रक्रिया अघि बढाए पनि त्यसको परिणाम पर्खिरहेका परिवारको संख्या ठूलो छ ।
सरकारले विपद्पछि बेपत्ता व्यक्तिसम्बन्धी छुट्टै कार्यविधि बनाएर प्रक्रिया अघि बढाउने प्रयास गरेको छ । तर कार्यविधि कहिले लागू हुन्छ, खोजी कहिलेसम्म हुन्छ, डीएनए परीक्षणको नतिजा कहिले आउँछ र बेपत्ता व्यक्तिको अन्तिम अवस्थाबारे परिवारले कहिले आधिकारिक जानकारी पाउँछन् भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।











प्रतिक्रिया