आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध


काठमाडौं ।

वन तथा वातावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्गता महिला महासंघ (निडवान) को आयोजनामा भइरहेको आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको एसिया–प्रशान्तीय क्षेत्रीय तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आदिवासी, दलित तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई राज्यका नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो।

तीनदिन सम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले आदिवासी पहिचान, लैङ्गिकता र अपाङ्गतासँग जोडिएका विभेद बहुआयामिक र जटिल भएकाले तिनलाई अन्तरक्षेदीय अधिकार तथा न्यायको दृष्टिकोणबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

“आदिवासी अपाङ्गता भएका महिलाहरूको अधिकार सुनिश्चित गर्नुपर्छ। समावेशिता, जलवायु न्याय र विपद् व्यवस्थापन आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।

मन्त्री चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीले समाजमा महत्वपूर्ण योगदान दिँदै आए पनि विभेद, पहुँचको अभाव र बहिष्करणको सामना गर्नुपरेको बताउनुभयो। राज्यका निकायले यस्ता समुदायका सवालमा थप संवेदनशील भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।

नेपालको संविधानले समानता, सामाजिक न्याय तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संवैधानिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका सबै निकाय र सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउनुभयो।

जलवायु परिवर्तनका कारण सिर्जित विपद्को प्रत्यक्ष असर आदिवासी जनजाति, मूलवासी तथा दलित समुदायमा बढी पर्ने उल्लेख गर्दै मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्तिले विपद्का समयमा थप चुनौती सामना गर्नुपरेको बताउनुभयो।

जलवायु परिवर्तन तथा विपद्का घटनाबाट प्रभावित समुदायका आवश्यकता र अधिकारलाई राज्यका नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा प्राथमिकताका साथ समेट्नुपर्ने उहाँले बताउनुभयो।

मन्त्री चौधरीले आफ्नो मन्त्रालयले आदिवासी, दलित तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई प्राथमिकतामा राखेर काम गरिरहेको र उनीहरूका समस्या समाधानका लागि आवश्यक पहल जारी रहेको जानकारी दिनुभयो।

उहाँले आफू आदिवासी जनजातिको मञ्चमा उभिन पाउँदा सधैं खुसी हुने उल्लेख गर्दै आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा अग्रज र आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।

“म जहिले पनि आदिवासीको मञ्चमा उभिन पाउँदा खुसी हुन्छु। यही मञ्च र यही ठाउँबाट आज म जहाँ छु, त्यसको श्रेय सम्पूर्ण अग्रज तथा आदिवासी जनजातिको योगदानलाई दिन चाहन्छु। आज म यहाँसम्म आइपुग्नु सबैको आशीर्वाद र सहकार्यको परिणाम हो,” उहाँले भन्नुभयो।

आदिवासी जनजातिका अग्रजहरूले विगतमा आफ्ना मुद्दा र आवाजलाई सडकदेखि सदनसम्म पुर्‍याउन गरेको योगदान स्मरण गर्दै मन्त्री चौधरीले समुदायका सवाललाई निरन्तर प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताउनुभयो।
“हाम्रा मुद्दाहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छौं,” उहाँले भन्नुभयो।