दोलखा।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको राहत, पूर्नस्थापना तथा उद्दारका लागि कालिञ्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
समितिको तर्फबाट उक्त रकमको चेक मंगलवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष चन्द्रकुमार लामाले बताए । विपद्को समयमा कालिञ्चोक भगवती मन्दिरको तर्फबाट प्रभावित नागरिकलाई सहयोग पुगोस भनेर समितिले दिनसक्ने थोरै सहयोग रकम जम्मा गरिएको अध्यक्ष लामा बताउँछन् । हामीले दिएको सहयोग धेरै ठूलो छैन, तर मन्दिरको तर्फबाट प्रभावितलाई भावनात्मक एकता छ भन्ने सन्देश दिनको लागि पनि समितिको तर्फबाट थोरै सहयोग गरिएको अध्यक्ष लामा बताउँछन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दोलखाको भीमेश्वर नगरपालिकाले ३० लाख बढी सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले राष्ट्रसेवकहरु तर्फ श्रेणी विहिन कर्मचारीबाट मासिक सुरु तलब स्केलको दुई दिन, सहायक स्तर कर्मचारी वा सो सरह कर्मचारीबाट पाँच दिन, अधिकृत स्तर र राजपत्राङ्कीत द्वितिय वा सो सरह कर्मचारीबाट सात दिन, शिक्षकहरु तर्फ उल्लेखित श्रेणी बमोजिम र जनप्रतिनिधिहरु को तर्फबाट खाईपाई आएको सुविधाको सात दिन बराबरबाट जम्मा हुन आउने ३० लाख ६२ हजार पाँच सय ७९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख ईश्वर नारायण मानन्धरले बताए ।
त्यसैगरी दोलखाको बैतेश्वर गाउँपालिकाले पनि रसुवाका बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सात लाख ७० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष छवि लामाले बताएका छन् । त्यसैगरी दोलखाको गौरीशङ्कर गाउँपालिकाले पनि कोषमा सहयोग गरेको अध्यक्ष विश्वास कार्कीले बताए ।











प्रतिक्रिया