उदयपुर ।
उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।
बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोले मेहेरमान राई, वीरसिंह राई र बमप्रसाद राईका घर बगाएको हो ।
पीडितमध्येका मेहेरमान राईलाई राति नै पहिरोले घरसँगै करिब चार सय मिटर तल बगाएर लगे पनि उहाँ शनिबार बिहान सकुशल सम्पर्कमा आउनु भएको नगरप्रमुख कार्कीले बताउनुभयो ।
पहिरोमा तीनवटा घर बग्नुका साथै अन्य सातवटा घरसमेत जोखिममा रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।
नगर प्रमुख कार्कीका अनुसार ति घरहरु केही अप्ठेरो ठाउँमा रहेको र घरमाथिबाट वर्षाका कारण जमिन गलेर भासिएपछि घरहरु बगाएको भएपनि घरका मानिसहरु भने सबै सुरक्षित रहेका छन् । उनीहरलाई सुरक्षित स्थान खोजेर सार्ने प्रयास नगरपालिकाले गरिरहेको छ ।











प्रतिक्रिया