काठमाडौं ।
सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट संघर्ष गर्दै पर्यटन व्यवसायमा स्थापित भएका समाजसेवी मिङ्मा दोर्जी शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ को अंग्रेजी संस्करण ‘आइ एम ए शेर्पा अफ माउण्ट एभरेष्ट’ सार्वजनिक भएको छ।
म्बा याङ्जी शेर्पा स्मृति प्रतिष्ठान नेपालले काठमाडौंको लैनचौरस्थित मल्ल होटलमा शनिबार आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। हालै भोटेकोशी नदिमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौन धारणबाट शुरु भएकाे कार्यक्रममा लेखक शेर्पाका ९ वर्षीय नाति नोर्वु छिरिङ शेर्पाले स्वागत मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले यो पुस्तक केवल एक व्यक्ति वा शेर्पा समुदायको मात्र कथा नभई सगरमाथाको काखमा हुर्किएका मानिसहरूको अद्भूत साहस, त्याग, समर्पण र मौलिक संस्कृतिको जीवित दस्तावेज भएको बताए। ‘शेर्पा’ भन्ने शब्द आफैँमा वीरता, इमानदारिता र हिमालप्रतिको अगाध मायाको प्रतीक भएको चर्चा गर्दै अंग्रेजी संस्करणको प्रकाशनले विश्वभरका पाठकहरूलाई नेपालका हिमाल, शेर्पा जीवनशैली र सगरमाथा आरोहणका वास्तविक अनुभूति बुझ्न सहज बनाउने र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ उच्च पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा पुस्तकका अनुवादक एवं सिक्किमका वरिष्ठ साहित्यकार डा. मनोरथ दाहाललाई विशेष सम्मान गरिएको थियो। उहाँले अनुवाद गर्दाका अनुभव बताउँदै शेर्पा समुदायको समृद्ध संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व महशुस भएको बताउनुभयो। सोही अवसरमा दृष्टिहीन तथा व्यस्त पाठकहरूलाई लक्षित गर्दै पुस्तकको ‘अडियोबुक’ संस्करणको अंश पनि सार्वजनिक गरिएको थियो। पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम लायन्स क्लब अफ फिनिक्स काठमाडौँलाई सामाजिक कार्यका लागि हस्तान्तरण गरिने आयोजक पेम्बा याङ्जी शेर्पा स्मृति प्रतिष्ठानले जनाएको छ।
पुस्तकमा शेर्पाको व्यक्तिगत जीवनसंघर्षसँगै सगरमाथा क्षेत्रको जनजीवन, पर्यटन व्यवसायको विकासक्रम, विदेशी पर्यटकसँगका अनुभव, अन्तर्राष्ट्रिय भ्रमण, सामाजिक सेवा तथा पारिवारिक सम्बन्धका विविध पाटा समेटिएका छन्।
लेखकले ‘मनका कुरा’ शीर्षकको लेखकीय मन्तव्यमा सोलुखुम्बुबाट सुरु भएको आफ्नो जीवनयात्रा काठमाडौं हुँदै संसारका विभिन्न मुलुकसम्म पुगेको उल्लेख गरेका छन्। जीवनमा भेटिएका साथीभाइ, परिवार तथा विशेषगरी जीवनसंगिनी पेम्बा याङ्जी शेर्पाको साथ र सहयोगले आफूलाई अघि बढ्न प्रेरणा दिएको उनको भनाइ छ।

पुस्तकमा सगरमाथा आरोहण र पर्यटनसँग जोडिएका आफ्ना अनुभवलाई व्यक्तिगत स्मृतिसँग जोडेर प्रस्तुत गरिएको छ। सगरमाथा क्षेत्रको पर्यटन यात्रामा जोडिएका विदेशी पर्यटक, आरोही र स्थानीय समुदायसँगका सम्बन्ध तथा त्यस क्रममा भोगेका विभिन्न घटनालाई समेत पुस्तकले समेटेको छ।
विषयसूचीअनुसार पुस्तकमा ‘मेरो संघर्षशील पापा मेरो स्मृतिमा’, ‘सगरमाथाको छायाँमा मेरो जन्म’, ‘हिलारीको थप अभियान लुक्ला एयरपोर्ट’, ‘अमेरिकाको भ्रमण र अनुभूति’, ‘कोभिडको गति पर्यटन क्षेत्रमा क्षति’ र ‘सामाजिक कार्यमा संलग्नता’ लगायत ५८ वटा शीर्षक छन्।

विशेषगरी कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्रमा परेको संकट, त्यसले व्यवसाय र पर्यटनमा निर्भर समुदायमा पारेको प्रभाव तथा त्यसपछिको यात्रालाई पनि पुस्तकमा समेटिएको छ। अमेरिकादेखि अष्ट्रेलियासम्मका भ्रमण अनुभवले शेर्पाको व्यक्तिगत यात्रालाई नेपालको पर्यटनसँग जोडेर प्रस्तुत गरेको छ।
पर्यटन व्यवसायसँगै शिक्षा, सामाजिक सेवा र सामुदायिक विकासका क्षेत्रमा आफ्नो संलग्नता रहेको लेखकले पुस्तकमार्फत उल्लेख गरेका छन्। त्यसैले पुस्तकलाई एउटा व्यक्तिको आत्मकथामात्र नभई सगरमाथा क्षेत्रको पर्यटन, सामाजिक जीवन र परिवर्तनका केही महत्वपूर्ण अनुभवको दस्तावेजका रूपमा पनि लिन सकिने देखिन्छ।
जरा फाउन्डेसन नेपालमार्फत प्रकाशित पुस्तकमा लेखकले आफ्ना जीवनका सफलता र संघर्षलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले आत्मकथा लेखेको बताएका छन्। पाठकबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै आगामी संस्करणलाई थप परिष्कृत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
कार्यक्रममा जरा फाउन्डेसन नेपालका अध्यक्ष एवं जेन कवि कृष्ण प्रसाईँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक एवं गीतकार देवेन्द्र केसी, परराष्ट्रविद् नारायण मैनाली, प्रतिनिधि सभा सदस्य गंगा सन्त्याल, लायन्स क्लब अफ फिनिक्स काठमाडौँका पूर्व अध्यक्ष लायन दीपशिखा शर्मा, वर्तमान अध्यक्ष लायन यशोदा गुरुङ तथा प्रथम उपाध्यक्ष लायन धनु थापा लगायतको उपस्थिति रहेको थियो।











प्रतिक्रिया