भारतले दियो तीन मोड्युलर पुल


हेटौंडा ।

भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्संञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ ।

७० मिटर लम्बाइका तीन वटा एकतर्फी मोड्युलर पुल शनिबार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदुतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गर्नुभएको हो । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरुप यी पुल उपलब्ध गराएको हो ।

पुल हस्तान्तरण कार्यक्रममा प्रथम सचिव सिंहले नेपालका लागि बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रिफ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताउनुभयो । पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत तथा सामान ढुवानीमा सहज हुने उहाँको भनाइ छ । उहाँले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध तथा साझेदारीको प्रतीकका रुपमा समेत यी सहयोगलाई लिन सकिने बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का बेला छिमेकीको सहयोग महत्वपूर्ण हुने भन्दै भारत सरकारप्रति धन्यबाद व्यक्त गर्नुभयो । उहाँले बाढीबाट रसुवा–नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पु¥याउनसमेत समस्या भइरहेको अवस्थामा पुलले आवागमन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बाढीका कारण देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको भन्दै सांसद गौतमले थप पुलका लागि नेपाल सरकारले भारत सरकारसँग आग्रह गरिएको जानकारी दिनुभयो ।

तत्काल आवश्यक रहेका क्षेत्रमा थप पुल उपलब्ध गराउन सरकारस्तरबाट द्विपक्षीय छलफल भइरहेको समेत उहाँले बताउनुभयो । विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको स्मरण गर्दै गौतमले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

सडक डिभिजन कार्यालय हेटौंडा प्रमुख किरण कार्कीको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधबप्रसाद काफ्लेलगायतको उपस्थिति थियो ।