काठमाडौँ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले प्रसूति गर्नुपरेको घटनाबारे छानबिन भइरहेको बताएकी छन्। छानबिनका क्रममा दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य तथा आकस्मिक समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे अस्पताल प्रशासनसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्।
घटनाको वास्तविकता पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली स्थलगत अध्ययनका लागि राजविराज पुगेको उनले बताइन्। स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि उक्त टोलीमा सहभागी रहेको मन्त्री मेहताले जानकारी दिइन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ।
मन्त्री मेहताका अनुसार गर्भवती महिला अस्पतालको परिसरभन्दा बाहिर पुग्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयलाई छानबिनको मुख्य आधार बनाइएको छ। अस्पतालको सेवा प्रवाहमा कुनै कमजोरी भएको थियो वा थिएन भन्ने विषय पनि छानबिनपछि स्पष्ट हुने उनले बताइन्।
घटना भएको समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर थप अनुसन्धान अघि बढाइएको पनि मन्त्री मेहताले जानकारी दिइन्।
सरकारले ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताइन्। प्रसूति सेवाका लागि स्वास्थ्य संस्थासम्म आउने–जाने यातायात खर्चसमेत सरकारले उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाइ छ।
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क प्रसूति सेवा हुँदाहुँदै कुनै शुल्क माग्ने वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गर्ने कार्य भए प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्री मेहताले चेतावनी दिइन्।
सुरक्षित मातृत्व प्रत्येक आमाको अधिकार भएको उल्लेख गर्दै उनले कुनै पनि महिलाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुने बताइन्। स्वास्थ्य संस्थामा आउने प्रत्येक गर्भवती महिलाले सहज, सम्मानजनक र सुरक्षित रूपमा प्रसूति सेवा पाउने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।












प्रतिक्रिया