काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध रहेको भनिए पनि सर्वसाधारणले सहज रूपमा खरिद गर्न नपाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले ग्यास नपाएको गुनासो लिएर दैनिक ठूलो संख्यामा नागरिकले आफूलाई फोन गर्ने गरेको बताइन्। उनका अनुसार कतिपय पसलमा ग्यास रहेको भए पनि व्यवसायीले उपभोक्तालाई बिक्री नगरेको गुनासो आउने गरेको छ।
‘मलाई दिनमा हजारौँ फोन आउँछन्। पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भनेर गुनासो आउँछ,’ उनले भनिन्। यस्तो अवस्थाले सरकारभन्दा पनि बिचौलिया वा माफिया शक्तिशाली देखिएको उनको टिप्पणी थियो।
ग्यासको वास्तविक अवस्था सरकारले जनतालाई स्पष्ट रूपमा जानकारी गराउनुपर्नेमा उनले जोड दिइन्। ग्यास उपलब्ध गराउन नसक्ने अवस्था भए त्यसबारे सरकारले खुलेर जानकारी दिनुपर्ने उनको भनाइ छ।
‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस्। यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस्,’ तामाङले भनिन्।
ग्यास अभावको समस्या समाधान गर्न पटकपटक उद्योगमन्त्री परिवर्तन गर्नु समाधान नभएको पनि उनले बताइन्। बिहीबार गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गरिएको प्रसंग उल्लेख गर्दै तामाङले मन्त्री फेरिँदैमा ग्यासको समस्या समाधान नहुने बताइन्।
‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन। यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ,’ उनले भनिन्।
उनले सरकारलाई ग्यास आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न गम्भीर भएर काम गर्न आग्रह गरिन्। मन्त्री परिवर्तन गर्नुभन्दा बजारमा सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।












प्रतिक्रिया