तादी खोलामा सेनाले जडान गर्‍यो ५७.९ मिटर लामो एक्रो ब्रिज


काठमाडौं ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणलाई तीव्रता दिँदै नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो ब्रिज जडान गरी सडक सञ्चालनमा ल्याएको छ।

नुवाकोट–५, देवीघाटमा नेपाली सेनाले ५७.९ मिटर लामो, ५.५ मिटर चौडा र अधिकतम ६० टन भारवहन क्षमता भएको एडभान्स मोड्युलर प्यानल ब्रिज (एक्रो ब्रिज) जडान गरेको हो।

पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकको आवतजावत सहज भएको छ। साथै, सवारीसाधन सञ्चालनमा सहजता आउनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत महत्वपूर्ण सहयोग पुग्ने सेनाले जनाएको छ।

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा यातायात सम्पर्क प्रभावित हुँदै आएको थियो। वैकल्पिक तथा अस्थायी संरचनामार्फत यातायात सञ्चालनमा ल्याउने क्रममा सेनाले तादी खोलामा एक्रो ब्रिज जडान गरेको हो।

पुल सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रसम्म राहत तथा उद्धार सामग्री पुर्‍याउन तथा सर्वसाधारणको दैनिक आवतजावत सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।