भोटेकोशीका मृतक पहिचान गर्न डीएनए परीक्षण तीव्र


काठमाडौं ।

भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणलाई तीव्र बनाएको छ। बाढीपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुना र फेला परेका शव तथा मानव अवशेषबाट संकलित नमुनालाई वैज्ञानिक विधिबाट परीक्षण गरी पहिचान गर्ने काम अघि बढाइएको हो।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले डीएनए प्रोफाइलिङ तथा फिङ्गरप्रिन्ट परीक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। नमुना संकलन, सुरक्षित भण्डारणदेखि परीक्षणसम्मका हरेक चरणमा त्रुटि हुन नदिन वैज्ञानिक उपकरण र निर्धारित मापदण्ड प्रयोग गरिएको प्रहरीले जनाएको छ।

प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट संकलित नमुना आउने क्रम जारी छ। ‘Chain of Custody’ सहित परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डीएनए परीक्षणमा अहोरात्र खटिरहेका छौं,’ पालले भन्नुभयो।

हालसम्म प्रयोगशालामा मृतकका प्रथम श्रेणीका आफन्त तथा दाजुभाइ–दिदीबहिनीबाट संकलित ८ सय ८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट संकलित ३ सय ४८ वटा नमुना र ८४ वटा फिङ्गरप्रिन्ट परीक्षणका लागि प्राप्त भएका छन्। यसरी डीएनए तथा फिङ्गरप्रिन्ट परीक्षणका लागि प्रयोगशालामा पुगेका नमुनाको संख्या १ हजार २ सय ४० पुगेको छ।

प्रहरीका अनुसार डीएनए प्रोफाइलिङका लागि हालसम्म २६ जिल्लाबाट रगतका नमुना प्राप्त भएका छन्। पछिल्लो तथ्यांकअनुसार शव पहिचानका लागि मृतकबाट १ हजार २ सय ८६ र आफन्तबाट १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ७८ वटा डीएनए नमुना संकलन भइसकेको छ।

मृतकका नमुना चितवनबाट ३ सय ५४, धादिङबाट ७०, नुवाकोटबाट २ सय ७, रसुवाबाट १ सय ३४, नवलपरासी पूर्वबाट १ सय ९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २ सय १३ वटा संकलन गरिएको प्रहरीले जनाएको छ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा मात्रै मृतकका आफन्तमध्ये ९ सय ९० जनाको नमुना संकलन भइसकेको छ। अन्य जिल्लामा पनि नमुना संकलनलाई तीव्रता दिइएको छ।

बाढीका कारण शव फेला नपरेका नेपाली तथा विदेशी नागरिकका परिवारका लागि डीएनए परीक्षणले आफ्ना आफन्तको पहिचान गर्ने महत्वपूर्ण आधार प्रदान गर्नेछ। शव पूर्ण अवस्थामा फेला नपरेको अवस्थामा समेत दाँत, हड्डी वा अन्य मानव अवशेषबाट डीएनए निकालेर आफन्तको नमुनासँग तुलना गरी पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

डीएनए प्रोफाइलिङ व्यक्ति पहिचानसँगै दुई व्यक्तिबीचको जैविक सम्बन्ध स्थापित गर्ने प्रभावकारी वैज्ञानिक विधि मानिन्छ। भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका कारण उनीहरूको अवस्था यकिन गर्न प्रहरीको फोरेन्सिक संयन्त्रले परीक्षणलाई उच्च प्राथमिकतामा राखेको हो।