अब राहत होइन, पुनर्निर्माण र पुनःस्थापनामा जोड


उत्तरगया, रसुवा।

भदौ १० गते भोटेकोशीमा आएको अचानकको बाढीबाट प्रभावित परिवारलाई नेपालमा राँगाभैंसी पालक किसान समूहले राहत सामग्री उपलब्ध गराएको छ। समूहले १०० परिवारका लागि करिब १५ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

बाढी प्रभावितलाई चामल, तेल, दाल, सिरक, डसना, प्रेसर कुकर, कन्ती, दिउरी, डाडु–पन्यू, बाटा, चप्पललगायतका सामग्री उपलब्ध गराइएको छ। त्यस्तै, २० जना सुत्केरीका लागि आवश्यक खुराक, तरकारी तथा प्रारम्भिक औषधिसमेत वितरण गरिएको जनाइएको छ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो। सामग्री हस्तान्तरणका लागि नेपाली किसानका शुभचिन्तक तथा बेइजिङ निवासी यी लिङ्ग र उ जिउदा, हिमालय फूडका डा. नवीन शर्मा, बफेलो इनिसिएटिभ नेटवर्कका डा. कृष्णप्रसाद अधिकारी, पशु बधशाला व्यवसायी संघका कृष्णहरि भट्टलगायत करिब २० जनाको टोली उत्तरगया पुगेको थियो। राहत अभियानको संयोजन डा. नवीन शर्माले गरेका थिए।

राहत संकलन केन्द्रमा पुगेको अवस्थाको अवलोकन गर्दा प्रारम्भिक तथा आकस्मिक आवश्यकताका सामग्री एक महिनाभन्दा बढी समयका लागि पुग्ने गरी जम्मा भइसकेको देखिएको टोलीले जनाएको छ।

अब भने तत्कालीन राहतभन्दा पनि प्रभावित परिवारको दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। बाढीबाट भत्किएका घर पुनर्निर्माण गर्ने, अभिभावक गुमाएका बालबालिकालाई उचित संरक्षणसहित व्यवस्थापन गर्ने तथा मृतक र बेपत्ता परिवारका लागि विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको टोलीको निष्कर्ष छ।

डा. नवीन शर्माका अनुसार राँगाभैंसी पालक किसान समूहको तर्फबाट रसुवा, नुवाकोट र धादिङमा रोजगारी तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने योजना समेत बनाइएको छ।

उनले प्रभावित परिवारका लागि परामर्श सेवा, पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। तत्कालीन राहतको चरणपछि प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सहयोगी मनहरूले पुनर्निर्माण र पुनःस्थापनाका लागि सहयोगका हात अगाडि बढाउनुपर्ने उनको भनाइ छ।