भोटेकोशी विपद् : ४ हजार ४० जनाको हवाई उद्धार

सुरुङभित्र खोजी तीव्र, रोङ्गामा एक शव भेटियो


काठमाडौं ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। मंगलबार दिउँसो ३ बजेसम्म थप २० जनाको हवाई उद्धार गरिएको छ। यससँगै हवाई साधनमार्फत उद्धार गरिएकाको संख्या ४ हजार ४० पुगेको छ। उद्धार गरिएकामध्ये ३ हजार ७५७ नेपाली र २८३ विदेशी नागरिक छन्।

बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता व्यक्तिको खोजीलाई सेनाले प्राथमिकतामा राखेको छ। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल सुरुङमा मानवरहित विमान (ड्रोन) मार्फत गरिएको खोजीका क्रममा एक शव फेला परेको छ।

रसुवागढी जलविद्युत् आयोजनामा द्रुत उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली विद्युत्गृह तथा नियन्त्रण केन्द्रसम्म पुगेर खोजी गरिरहेको छ। लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त टोलीको खोज तथा उद्धार जारी छ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा संयुक्त टोली करिब ११५ मिटरभित्र प्रवेश गरेर खोजीमा जुटेको छ। सुरुङमा थुप्रिएको भग्नावशेष हटाउन तान्ने यन्त्र र बाल्टी प्रयोग भइरहेको छ। भारी उपकरण लैजान सडकमा रहेका ठूला ढुंगा विस्फोट गराएर हटाउने कामसमेत जारी छ।

माथिल्लो त्रिशूली–१ को मुख्य प्रवेश सुरुङमा विदेशी प्राविधिकसहितको टोली करिब ४०० मिटरभित्र पुगेर खोजी गरिरहेको छ। त्रिशूली–३ए र ३बीमा पनि नेपाली सेना, सशस्त्र प्रहरी तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन गरिएको छ।

त्रिशूली–३बीमा तीनवटा डोजर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गरिए पनि कार्यालय तथा आवासगृह क्षेत्रमा बेपत्ता व्यक्ति फेला परेका छैनन्।

तादीमा पुल निर्माण तीव्र

बाढीबाट अवरुद्ध सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले पुल निर्माणलाई समेत तीव्रता दिएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको ५५ सदस्यीय इन्जिनियरिङ टोलीले पुल निर्माण गरिरहेको छ।

त्यस्तै, ढुंगे बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि सेनाका इन्जिनियरले प्राविधिक परामर्शसहित काम सुरु गरेका छन्।

९ हजारभन्दा बढी सैनिक मैदानमा

मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत खोजी तथा उद्धार जारी छ। त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा स्वास्थ्य टोलीबाट मंगलबार मात्रै ५० जनाले स्वास्थ्य सेवा लिएका छन्।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले बेपत्ता तथा घाइतेको खोजी, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।