काठमाडौं ।
पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गइरहेका बेला पत्रकारलाई एआई प्रविधिको व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले नेपाल प्रेस इन्स्टिच्युट र नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाको संयुक्त आयोजनामा दुईसाताको एआई तालिम सुरु भएको छ।
भदौ २२ गतेदेखि सुरु भएको तालिम कामना न्यूज पब्लिकेशन्स प्रा.लि.को हलमा दुई सातासम्म सञ्चालन हुनेछ। तालिममा प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट पत्रकार, सुरक्षाकर्मी, कर्मचारीलगायत विभिन्न क्षेत्रका सहभागीको सहभागिता रहेको छ।
तालिमबारे जानकारी दिँदै नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तथा वरिष्ठ पत्रकार कपिल काफ्लेले पत्रकारलाई लक्षित गरेर दुई सातासम्म एआईसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो। पछिल्लो समय पत्रकारितामा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेकाले पत्रकारलाई समयअनुसार नयाँ प्रविधिसँग परिचित गराउन तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।
नेपाल प्रेस इन्स्टिच्युटका महासचिव विज्ञान शर्माले अनलाइन पत्रिकारिताको विकाशसंगै पछिल्लो समय विश्वव्यापी रुपमै माग बढेको एआई सिप नेपाली पत्रकारिता क्षेत्रमा अपरिहार्य भएको बताउनु भयो।
नेपाल प्रेस इन्स्टिच्युटका निवर्तमान अध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले समयको मागअनुसार आफू पनि एआई सिक्ने उद्देश्यले तालिममा सहभागी भएको बताउनुभयो। पत्रकारितामा लामो अनुभव भए पनि प्रविधिको तीव्र विकाससँगै निरन्तर सिकाइ आवश्यक रहेको उहाँको भनाइ थियो।
तालिमका प्रशिक्षक तथा पत्रकार रविराज बरालले आफूले कलेजमा अध्यापन गर्दै आएको उल्लेख गर्दै पत्रकारलाई एआईको प्रशिक्षण दिनु आफ्ना लागि नयाँ अनुभव भएको बताउनुभयो। ज्ञान र सीप आदानप्रदानबाट नै पत्रकारले नयाँ–नयाँ प्रविधिको प्रभावकारी प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले सहभागीहरूलाई स्वागत गर्दै पत्रकारितामा भइरहेको तीव्र प्राविधिक परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले बदलिँदो समयसँगै पत्रकारिताको स्वरूप, शैली र प्रविधिमा समेत तीव्र परिवर्तन भइरहेको बताउँदै हिजो कलम, क्यामरा र कागज पत्रकारका मुख्य साथी रहे पनि अहिले प्रविधि र कृत्रिम बौद्धिकता पत्रकारिताका नयाँ सहयात्री बनेको उल्लेख गर्नुभयो।
“एआई हाम्रो प्रतिस्पर्धी होइन, सही प्रयोग गर्न सके पत्रकारिताको सहयात्री हो,” अध्यक्ष तिमल्सिनाले भन्नुभयो, “त्यसैले यसको विवेकपूर्ण, जिम्मेवार र सिर्जनात्मक प्रयोग गर्ने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।”
उहाँले नेपाल प्रेस इन्स्टिच्युट र कामना परिवारबीच दोस्रोपटक सहकार्य गर्ने अवसर जुटेकोमा नेपाल प्रेस इन्स्टिच्युट परिवारप्रति आभार व्यक्त गर्नुभयो। साथै, आफ्नो व्यस्त समयका बाबजुद सहभागीलाई एआईको ज्ञान र सीप प्रदान गर्न प्रशिक्षण दिनुहुने प्रशिक्षक बरालप्रति धन्यवाद व्यक्त गर्नुभयो।
दुई वर्षअघि पनि नेपाल प्रेस इन्स्टिच्युट र नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन भएको स्मरण गर्दै अध्यक्ष तिमल्सिनाले यसपटकको तालिमले पत्रकारलाई प्रविधिमैत्री, दक्ष र समयसापेक्ष बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले तालिम केवल प्रविधि सिक्ने कक्षामा सीमित नभई सिकाइ, जिज्ञासा र अनुभव आदानप्रदान गर्ने साझा थलो बन्नुपर्ने बताउनुभयो। प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट बिहानैदेखि जोडिएका सहभागीको सक्रिय सहभागिताले तालिमलाई अझ अर्थपूर्ण बनाउने उहाँको विश्वास छ।
पत्रकारितामा एआईको प्रयोगले समाचार संकलन, सामग्री उत्पादन, सम्पादन, तथ्य खोज तथा प्रस्तुतीकरणलगायतका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरिरहेको अवस्थामा यसको सही र जिम्मेवार प्रयोगबारे पत्रकारलाई व्यवहारिक ज्ञान दिन तालिम केन्द्रित रहेको आयोजकले जनाएको छ।
तालिममा सहभागी पत्रकार, सुरक्षाकर्मी तथा कर्मचारीलाई एआईका विभिन्न उपकरण र तिनको व्यवहारिक प्रयोगबारे जानकारी दिइनेछ। प्रविधिको प्रयोग गर्दा मानवीय विवेक, पत्रकारिताको मूल्य–मान्यता र जिम्मेवारीलाई समेत ध्यान दिनुपर्नेमा आयोजकले जोड दिएको छ।
नेपाल प्रेस इन्स्टिच्युट र नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाबीचको सहकार्यमा सञ्चालन भइरहेको तालिमले पत्रकारलाई एआईसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि यसको उचित प्रयोगमार्फत पत्रकारितालाई थप प्रभावकारी, विश्वसनीय र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया