काठमाडौँ।
नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद सुरु भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ ।
सभापति गगनकुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको ‘वान टु वान’ भेटवार्तापछि लामो समयदेखि नेतृत्व, वैधानिकता र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर विभाजित देखिएको कांग्रेसभित्र संवादको नयाँ प्रयास अघि बढेको हो ।
एकातर्फ सभापति थापा नेतृत्वको संस्थापन पक्ष पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवा निकट पक्षले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेको छ ।
दुई पक्षले आ–आफ्नो राजनीतिक तथा संगठनात्मक तयारी तीव्र बनाइरहेका बेला गगन–पूर्णबहादुर भेटलाई भने कांग्रेसभित्र सम्भावित सहमतिको प्रारम्भिक आधारका रूपमा हेरिएको छ । थापासँगको भेटमा खड्काले १५औँ महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्य अद्यावधिक नभएको आधारमा कसैलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा राख्नुभएको थियो । उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई समेत पार्टीको आगामी प्रक्रियामा समेट्नुपर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सभापति थापा ती विषयमा सकारात्मक देखिएपछि आन्तरिक सहमतिको सम्भावना बढेको छ । यद्यपि दुवै पक्षबाट औपचारिक सहमतिको घोषणा भने भइसकेको छैन । कांग्रेसभित्र विवाद अहिले सामान्य गुटगत प्रतिस्पर्धाभन्दा अगाडि बढेर पार्टीको नेतृत्व, संगठनात्मक निरन्तरता र १५औँ महाधिवेशनको वैधानिकतासँग जोडिएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कार्यसमितिलाई देउवा पक्षले स्वीकार नगरेपछि विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । देउवा पक्षले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवेदन दिए पनि सर्वोच्च अदालतबाट तत्काल महाधिवेशन रोक्ने अन्तरिम आदेश जारी भएन । त्यसपछि थापा पक्षले पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाएको थियो ।
यसबीच देउवा पक्षले भने आफ्नो संगठनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । पार्टीभित्र अलग महाधिवेशनको तयारीसमेत अघि बढाइएको छ भने डा. शशांक कोइरालाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । तर पछिल्लो समय शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद सुरु भएपछि कांग्रेस औपचारिक विभाजनको दिशामा जानेभन्दा अन्तिम समयमा कुनै राजनीतिक तथा संगठनात्मक समझदारी खोज्ने प्रयासमा जुटेको संकेत देखिएको छ ।
सभापति थापाले नेता डा. कोइरालासँग पनि भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । पार्टी एकताका लागि सक्रिय देखिएका डा. कोइरालाले विवाद समाधानका लागि केही प्रस्ताव अघि सार्नुभएको छ । उहाँका प्रस्तावमा क्रियाशील सदस्यता अद्यावधिकलाई तत्काल अनिवार्य नबनाउने, १४औँ महाधिवेशनकै सदस्यताका आधारमा संगठनात्मक प्रक्रिया अघि बढाउने, केन्द्रीय कार्यसमितिको समायोजन गर्ने तथा विभिन्न समिति र संरचना सहमतिका आधारमा गठन गर्ने विषय रहेको बताइएको छ । यी प्रस्तावमा पूर्णबहादुर खड्कासमेत सकारात्मक रहेको स्रोतको दाबी छ । त्यसैले गगन–पूर्णबहादुर र गगन–शेखर भेटलाई कांग्रेसभित्र सहमतिको साझा सूत्र खोज्ने प्रयासका रूपमा हेरिएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीभित्रको विवाद समाधानका लागि सभापति थापा स्वयं सक्रियतापूर्वक संवादमा जुट्नुभएको छ । शीर्ष नेताहरूसँग भएका छलफल र सम्भावित सहमतिका विषयमा आइतवार बसेको बैठकमा जानकारी गराइएको थियो ।
यदि शीर्ष नेतृत्वबीच सहमति बनेमा १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा समेत केही हेरफेर हुन सक्ने सम्भावना देखिएको छ । विशेषगरी भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मिति केही समय पछाडि सार्न सकिने संकेत गरिएको छ ।
महाधिवेशनको प्रक्रिया र नेतृत्व विवादबीच देशले भने पछिल्लो समय ठूलो प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट जनधनको ठूलो क्षति भएको छ । यस्तो अवस्थामा कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार, राहत, मनोसामाजिक सहयोग तथा पुनर्निर्माणमा परिचालन गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गर्नुका साथै पार्टीभित्र विपद् व्यवस्थापनसम्बन्धी जिम्मेवारीसमेत तोकेको थियो । यद्यपि विपद्को घडीमा समेत शीर्ष नेतृत्वबीचको दूरी कायम रहँदा नेतृत्वमाथि तीव्र आलोचना भएको छ । पार्टीभित्रकै केही नेता तथा कार्यकर्ताले प्राकृतिक विपत्तिको समयमा आन्तरिक शक्ति संघर्षभन्दा राहत, उद्धार र पुनर्निर्माणमा साझा राजनीतिक भूमिका आवश्यक रहेको धारणा राख्दै आएका छन् ।
कांग्रेसभित्र देखिएको विवादलाई राजनीतिक विश्लेषकहरूले पार्टीको भविष्यसँग जोडेर हेर्न थालेका छन् । नयाँ पुस्तामा परम्परागत राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र पछिल्ला राजनीतिक घटनाक्रमका बीच कांग्रेसभित्रको लामो आन्तरिक संघर्षले संगठन, कार्यकर्ता र जनआधारमा असर पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।
यता पार्टीका उपसभापति विश्वप्रकाश शर्माले पनि प्राकृतिक विपद्को सामना र १५औँ महाधिवेशनको प्रक्रिया दुवैलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । कांग्रेसका लागि अहिलेको चुनौती केवल निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नु मात्र होइन । पार्टीभित्र उठेको वैधानिकताको प्रश्न समाधान गर्ने, विभिन्न धारबीचको विश्वासको संकट हटाउने र कार्यकर्तालाई एउटै संगठनात्मक संरचनाभित्र राख्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।
थापा र खड्काबीचको भेटपछि देखिएको सकारात्मक संकेतले सहमतिको सम्भावना बढाए पनि विवादको अन्तिम समाधान भने शीर्ष नेतृत्वले गर्ने राजनीतिक समझदारीमै निर्भर रहनेछ । अब कार्यसम्पादन समितिको बैठकमा शीर्ष नेताहरूबीच भएका संवाद र प्रस्तावबारे कस्तो ब्रिफिङ हुन्छ र त्यसले महाधिवेशनको कार्यतालिकामा कस्तो प्रभाव पार्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।
सहमति जुटेमा कांग्रेसको १५औँ महाधिवेशन पार्टी एकताको नयाँ सुरुवात बन्न सक्छ । तर संवाद असफल भएमा यही महाधिवेशन कांग्रेसको इतिहासकै सबैभन्दा जटिल राजनीतिक मोड बन्ने सम्भावना पनि उत्तिकै रहनेछ ।












प्रतिक्रिया