बाढी प्रभावितका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर आकस्मिक सहायता


काठमाडौँ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा स्वास्थ्य आकस्मिक प्रतिकार्यलाई सघाउन १ लाख ५० हजार अमेरिकी डलर बराबरको आकस्मिक सहायता उपलब्ध गराएको छ ।

डब्लूएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आकस्मिक कोषमार्फत उक्त रकम उपलब्ध गराएको हो । डब्लूएचओका अनुसार बाढीपछिको तत्काल आवश्यक स्वास्थ्य प्रतिकार्यको प्राथमिकतामा सहयोग पु¥याउन कोष परिचालन गरिएको हो ।

डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालमा बाढीबाट प्रभावित समुदायको आकस्मिक स्वास्थ्य आवश्यकता सम्बोधन तथा पुनःस्थापनाका प्रयासमा संगठन निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बाढी आएको केही घण्टामै डब्लूएचओले प्रभावित क्षेत्रमा अत्यावश्यक आकस्मिक स्वास्थ्य सामग्री पठाएको थियो। करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने आकस्मिक स्वास्थ्य सामग्री तथा टेन्ट उपलब्ध गराइएको थियो । त्यसैगरी आवश्यकताका आधारमा सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाइएको डब्लूएचओले जनाएको छ । बाढीमा २०० भन्दा बढी घाइते भएका छन् ।

बागमती र गण्डकी प्रदेशका छ जिल्लाका करिब १० हजार घरपरिवारलाई तत्काल राहतको आवश्यकता रहेको डब्लूएचओले जनाएको छ । बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै विस्थापन र स्वास्थ्य संस्थालगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
सबैभन्दा बढी प्रभावित रसुवा जिल्लाका चार स्वास्थ्य संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । धादिङका दुई स्वास्थ्य संस्था आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । धादिङ अस्पताल र त्रिशूली अस्पताल पुग्ने सडक अवरुद्ध भएकाले ती स्वास्थ्य संस्थासम्म पुग्नसमेत कठिनाइ भइरहेको छ ।

सडक सञ्जालमा आएको क्षतिका कारण विस्थापित तथा दुर्गम क्षेत्रमा रहेका प्रभावित समुदायसम्म स्वास्थ्य सेवा र राहत सामग्री पु¥याउन थप चुनौती देखिएको छ ।डब्लूएचओले नेपाल सरकार तथा साझेदार संस्थासँगको सहकार्यमा स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन, रोग निगरानी प्रणाली सुदृढ गर्न, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न तथा सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान र सम्बोधन गर्न काम गरिरहेको जनाएको छ ।

बाढीपछि डुबान तथा डुबेर हुने मृत्यु, विभिन्न किसिमका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, दूषित पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तथा रोकथामका उपायलाई प्राथमिकता दिनुपर्ने डब्लूएचओको भनाइ छ ।

यसका साथै आफन्त गुमाउनु, घरबार विनाश हुनु, जीविकोपार्जनमा असर पर्नु तथा विस्थापनमा पर्नुले प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थामा समेत गम्भीर असर पार्न सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने संगठनले जनाएको छ ।
क्षेत्रीय स्वास्थ्य आकस्मिक कोष के हो ?

दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आकस्मिक कोष डब्लूएचओको प्रमुख क्षेत्रीय वित्तीय संयन्त्रमध्ये एक हो । यसले दक्षिण–पूर्वी एसिया क्षेत्रमा आकस्मिक स्वास्थ्य संकटका बेला तत्काल आर्थिक सहायता उपलब्ध गराई समयमै प्रतिकार्य गर्न तथा आकस्मिक पूर्वतयारी सुदृढ बनाउन सहयोग गर्छ ।

नेपालका लागि गरिएको यो कोष विनियोजन सन् २००० मा क्षेत्रीय स्वास्थ्य आकस्मिक कोष स्थापना भएयता स्वास्थ्यसम्बन्धी आकस्मिक प्रतिकार्यका लागि गरिएको ५४औँ विनियोजन भएको डब्लूएचओले जनाएको छ ।