जलविद्युत् र भौतिक संरचना बनाउन झण्डै २ खर्ब लाग्ने

१२ जलविद्युत् आयोजना निर्माण गर्न १ खर्ब ४५ अर्ब लाग्ने अनुमान

0
Shares


– पुल र सडकमा अनुमानित ३० अर्ब
– सरकारी र निजी आवासमा अनुमानित १६ अर्ब
– खानेपानी आयोजनामा अनुमानित १ अर्ब
– झोलुङ्गे पुलमा अनुमानित ६० करोड

काठमाडौँ ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट जलविद्युत्् र अन्य संरचना गरी झण्डै २ खर्ब रुपैयाँ बराबरको क्षति भएको छ । जसमा १२ जलविद्युत्् आयोजना,पुल,सडक,आवास, खानेपानी झोलुङ्गे पुल छन् । भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको प्रारम्भिक तथ्याङ्कले जलविद्युत्् आयोजनाबाहेकका संरचनामा ४८ अर्ब ३ करोड क्षति भएको देखाएको छ । जलविद्युत्् आयोजनामा करिब १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

भीषण बाढी आएको आठौँ दिनसम्मको प्रारम्भिक मूल्याङ्कनले सडक, पुल,आवास र खानेपानी क्षेत्रमा मात्र ४८ अर्ब ३ करोड रुपैयाँको क्षति पुगेको छ । जलविद्युत्मध्ये सञ्चालन भएका ८ र निर्माणाधीन ४ गरी १२ वटामा क्षति पुगेको छ । जलविद्युत् आयोजनाहरूमा माथिल्लो त्रिशूली,रसुवागढी,रसुवा–भोटेकोशी,लाङटाङखोला,चिलिमे, मैलुङखोला, त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली –३ बी, मिडल त्रिशूलीगंगा र सौर्य विद्युत् आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा कार्यरत ८९४ जना अझै सम्पर्कविहीन छन् ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभागले क्षति पुगेका सबै संरचना पुनर्निर्माण गर्न ४८ अर्ब ३० करोड रुपैयाँ आवश्यक हुने प्रारम्भिक अनुमान गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ३ दिनभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि मन्त्रालय अन्तर्गतका निकायले मंगलवार साँझ क्षति विवरण मूल्याङ्कन गरी अनुमानित लागतसहित तथ्याङ्क तयार गरेको हो ।

सडक र पुलमा मात्रै ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । ती पुल र सडक पुनर्निर्माणलाई कति रकम आवश्यक पर्छ भन्ने विषयमा करिब १० दिनभित्र विस्तृत विवरण सार्वजनिक गर्ने सरकारको तयारी छ ।

बाढीले ३१ वटा पक्की पुलहरू बगाएको छ । विदुर–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको ५६ किलोमिटर लम्बाइमध्ये करिब ४० किलोमिटर सडक पूर्णरूपमा ध्वस्त भएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उक्त सडक कुल ८२ किलोमिटर छ । उहाँका अनुसार अहिले तत्कालको लागि सडक बोर्डले आपत्कालीन मर्मत गर्न ३ करोड २५ लाख रुपैयाँ स्वीकृत गरेको छ । सडक पूर्वाधारबाट टाढा रहेका रसुवा र नुवाकोटका स्थानीयलाई बागमती प्रदेश सरकारले तुइन जडान गरेको छ । तुइनबाट अत्यावश्यक सामान ओसारपसार भैरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निजी आवास र सार्वजनिक संरचनामा मात्र साढे १६ अर्ब रुपैयाँको क्षति पुगेको छ । रसुवा, नुवाकोट र धादिङमा सबैभन्दा धेरै निजी आवासहरू बगाएको छ । प्रारम्भिक मूल्याङ्कनमा निजी आवासमा १२ अर्ब रुपैयाँ क्षति भएको छ । सरकारले घरबारविहीन परिवारलाई ७–७ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

तथ्याङ्कअनुसार बाढीले ७ हजार ५७० निजी आवासमा क्षति पुगेको छ । त्यसमध्ये रसुवामा १ हजार ७७९ निजी आवासमा क्षति पुगेको छ । नुवाकोटमा ३ हजार ९७७ निजी आवासमा क्षति पुगेको छ । धादिङमा करिब २ हजार घरमा क्षति पुगेको छ भने चितवनमा करिब सय घर क्षति भएको तथ्याङ्क छ ।

सरकारी भवन, २२ विद्यालय र अन्य गरी ४५ वटा सार्वजनिक संरचना आंशिक र पूर्ण क्षति भएका छन् । ती संरचना निर्माण गर्न करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बाढीले त्रिशूली नदी करिडोरमा पर्ने रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा खानेपानी र सरसफाइ क्षेत्रमा कुल ९३ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको सरकारी तथ्याङ्क छ । खानेपानीतर्फ करिब ६४ करोड र प्रभावित क्षेत्रका चर्पी निर्माण गर्न करिब २९ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

विशेषगरी त्रिशूली नदी करिडोर क्षेत्रमा ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले ३३ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ भने २० वटा सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् ।
पूर्णरूपमा क्षतिग्रस्त ३३ वटा पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० वटाको मर्मत कार्य तत्काल अघि बढाइने विभागले जनाएको छ । बाढीले पुल बगाएपछि सम्बन्ध विच्छेद भएको जनजीवन सहज पार्न विभागले तत्काल पाँचस्थानमा अस्थायी तुइन जडान गर्ने कार्य सुरु गरेको छ । नुवाकोटको त्रिशूली नदीको इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमवारबाट सञ्चालनमा आइसकेको छ । देवीघाटमा १८० मिटर लामो तुइन सञ्चालनमा ल्याएको छ ।

झोलुङ्गे पुलमर्मतका लागि १५ करोड, पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ र अवरुद्ध ग्रामीण सडक खुलाउन तथा वैकल्पिक मार्गका लागि ४० करोड रुपैयाँ खर्च हुने अनुमान छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार धादिङमा ६५ वटा इन्टेक र १११ वटा रिजभ्र्वायर ट्यांकी क्षतिग्रस्त भएको छ । खानेपानी आयोजना पुनर्निर्माणमा १ अर्ब लाग्ने अनुमान छ ।

रसुवामा १४,नुवाकोटमा ११, गोरखामा ४ इन्टेक र कुल ४१ रिजर्भवायर ट्यांकीमा बाढीले क्षति पु¥याएको छ । सरकारले केही संरचना निर्माण गर्न रकम विनियोजना गरिसकेको छ । सबै संरचना पुनर्निर्माण गर्न वर्षाँैलाग्ने भएको छ । सरकारले आवश्यकताको आधारमा पुल, खानेपानी, विद्यालय र सरकारी कार्यालयलाई उच्च प्राथमिकतामा राखेर पुनर्निर्माण गर्नेछ ।