काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को समयमा सरकार प्रभावकारी रूपमा फिल्डमा खटिन नसकेको आरोप लगाएको छ। कांग्रेसले सरकार उद्धार तथा राहतमा भन्दा सामाजिक सञ्जालमार्फत प्रचार गर्न बढी केन्द्रित भएको दाबी गरेको हो।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गर्दै सांसद भीष्मराज आङ्देम्बेले विपद् प्रभावित क्षेत्रको स्थलगत अवस्था हेरेपछि सरकारको कामप्रति प्रश्न उठाउन बाध्य भएको बताए।
उनले सरकार पीडित समुदायसम्म समयमै पुग्न नसकेको र जनताको ज्यान जोगाउने तथा परिणाममुखी काम गर्नुभन्दा प्रचारप्रसारमा केन्द्रित भएको आरोप लगाए।
‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा रहेका पीडित परिवारका गुनासा सुनेपछि आज संसद्मा यो कुरा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झिएको छ,’ आङ्देम्बेले भने, ‘जोखिममा रहेका समुदायसम्म सरकार समयमै पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउनुभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकको हल्लामा बढी केन्द्रित भयो।’
सांसद आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइलाई गम्भीर र अमानवीय विषयका रूपमा व्याख्या गरे।
उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै मन्त्री तथा सरकारका जिम्मेवार व्यक्तिका आफ्नै परिवारका सदस्य विपद्मा परेको भए उद्धारका लागि आवश्यक प्राविधिक, विज्ञ र स्रोतसाधन तत्काल परिचालन हुन्थ्यो कि सामाजिक सञ्जालमा प्रचारका लागि फोटो तथा भिडियो बनाइन्थ्यो भन्ने प्रश्नसमेत गरे।
‘यदि मन्त्रिपरिषद्का सदस्यकै कुनै परिवार वा आफन्त यस्तो घटनामा परेको भए उद्धारका लागि प्राविधिक, विज्ञ र आवश्यक साधन जुटाएर काम गरिन्थ्यो कि माटो खोस्रेको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा वाहवाही बटुल्ने काम गरिन्थ्यो ?’ उनले प्रश्न गरे।












प्रतिक्रिया