ललितपुर ।
जलवायु न्यायका अभियन्ता तथा युवा अगुवा अटल देव ढकालले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को उपाधि जितेका छन्।
ललितपुरस्थित द प्लाजामा मंगलबार सम्पन्न ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को महाफाइनलमा नेपालका ढकाललाई दक्षिण एसियाली क्षेत्रको पहिलो ग्लोकल टिन हिरोको उपाधि प्रदान गरिएको हो।
नेपालसहित भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताहरू सहभागी महाफाइनलले पहिलोपटक पाँच दक्षिण एसियाली मुलुकका किशोर तथा युवा परिवर्तनकर्तालाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो।
ढकाललाई जलवायु कार्य, वातावरणीय न्याय तथा युवा नेतृत्वका क्षेत्रमा पुर्याएको योगदानका आधारमा विजेता घोषणा गरिएको हो। उनी जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण तथा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा सीमान्तकृत युवाको प्रतिनिधित्वका लागि अभियान सञ्चालन गर्दै आएका छन्।
युङ्गोअन्तर्गत पहाड तथा हिमनदी कार्य समूहको नेतृत्व गर्दै आएका ढकालले जलवायु नीतिमा अग्रपंक्तिका पहाडी तथा हिमाली समुदायका सवाललाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठाउँदै आएका छन्। उनले युवालाई जलवायु नीति तथा विश्वव्यापी जलवायु शासनसँग जोड्ने अभियानसमेत सञ्चालन गर्दै आएका छन्।

महाफाइनलमा बंगलादेशबाट मुनाजिया स्निग्धा मून, भुटानबाट उग्येन शेडेन तोब्गे, भारतबाट राघुल आर र श्रीलंकाबाट मोहमद अमाजिर मोहमद अमानथ राष्ट्रिय विजेताका रूपमा सहभागी थिए। उनीहरूले क्रमशः सामाजिक उद्यमशीलता तथा मानसिक स्वास्थ्य, युवा अभियान तथा समावेशी शिक्षा, प्रविधि तथा महिला सुरक्षा र खगोलशास्त्र तथा विज्ञान–प्रविधि शिक्षाका क्षेत्रमा काम गर्दै आएका छन्।
कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा हालैको बाढीबाट प्रभावित नागरिकहरूको सम्झनामा एक मिनेट मौन धारणबाट गरिएको थियो।
समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, कर्पोरेट क्षेत्रका प्रतिनिधि, युवा अभियन्ता तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा नेपालस्थित बंगलादेश दूतावासका उपप्रमुख मो. शोएब अब्दुल्लाह, श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया तथा भुटानका कन्सल दोर्जे ग्याल्चेन लामालगायत सहभागी थिए।
ग्लोकल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष आशिष ठाकुरले पाँच राष्ट्रका युवालाई एउटै क्षेत्रीय मञ्चमा जोडिनु कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले ग्लोकल टिन हिरो युवाको उपलब्धिलाई सम्मान गर्ने कार्यक्रम मात्र नभई युवा नेतृत्व, सहकार्य र सामाजिक प्रभावलाई अघि बढाउने अभियानका रूपमा विकसित हुँदै गएको बताए।
कार्यक्रममा ग्लोकल टिन हिरोका पूर्व सहभागी आशिष पन्थीलाई एलुम्नाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो।
सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको ग्लोकल टिन हिरो कार्यक्रम पछिल्लो समय नेपालबाहेक भारत, श्रीलंका, बंगलादेश र भुटानसम्म विस्तार भएको आयोजकले जनाएको छ। सन् २०२६ बाट पाँच राष्ट्रलाई समेट्दै ग्लोकल टिन हिरो दक्षिण एसिया क्षेत्रीय मञ्चका रूपमा अघि बढाइएको हो।
आयोजकका अनुसार कार्यक्रममा गोल्छा ग्रुप उपाधि साझेदारका रूपमा रहेको थियो भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, कर्पोरेट क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमले साझेदारी तथा सहकार्य गरेका थिए।












प्रतिक्रिया