भोटेकोशी बाढीपीडितका लागि आर्ट अफ लिभिङ नेपालको ५० लाख सहयोग


काठमाडौं ।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि आर्ट अफ लिभिङ नेपालले राहत तथा सहयोगलाई निरन्तरता दिँदै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी थप ५० लाख रुपैयाँ सहयोग गरेको छ।

आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंह, महासचिव प्रभुराज वैद्य, कोषाध्यक्ष रिता वैद्यसहितको टोलीले मंगलबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। संस्थाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुनेछ।
आर्ट अफ लिभिङ नेपालको बाढीपीडितका लागि सहयोग ५० लाख रुपैयाँमा मात्र सीमित छैन। संस्थाले यसअघि नै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पहिलो किस्ताबापत २० लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। यससँगै कोषमा संस्थाले गरेको प्रत्यक्ष नगद सहयोग ७० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, सोमबार मात्रै संस्थाले ३८ लाख २३ हजार रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराएको थियो। संस्थाले प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर स्थानीय समुदायलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कार्यसमेत निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।

बाढी प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै स्थानीय समुदायसँग प्रत्यक्ष समन्वय गरेर सहयोग गर्ने काम भइरहेको आर्ट अफ लिभिङ नेपालले जनाएको छ।

प्राकृतिक विपद्का समयमा मानवीय सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले करुणा, सेवा र सामूहिक कार्यलाई आफ्नो अभियानको आधार बनाउँदै आएको जनाएको छ।

गुरुदेव श्रीश्री रविशंकरले स्थापना गरेको आर्ट अफ लिभिङ विश्वभर सेवा, करुणा र सामूहिक कार्यमार्फत मानवीय सहयोगमा सक्रिय संस्थाका रूपमा परिचित छ। नेपालमा पनि संस्थाले विभिन्न प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।